
धनगढी– कैलालीमा बाढी बस्तीमा पसेको छ । पथरैया नदीमा आएको बाढी बस्तीमा पसेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ४ र ७ मा पथरैया नदी बस्तीमा पसेको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताए ।
‘जानकी गाउँपालिका वडा नम्बर ४ का ८० घर र वडा नम्बर ७ का ५८ घरमा पानी पसेको छ। सशस्त्र प्रहरीको टोली उद्धारको लागि खटिएको छ,’ उनले भने । यस्तै प्रशासनले कर्णाली नदीमा पनि पानीको बहाव बढ्दै गएकोले तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। यस्तै कैलारी गाउँपालिकाका विभिन्न क्षेत्रका घरमा पनि पानी पसेको छ ।
चुरे क्षेत्रमा भइरहेको वर्षाका कारण कैलालीका अधिकांश नदीमा पानीको बहाब बढेको छ । बाढी पूर्वानुमान महाशाखाले कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा बहाव बढ्ने जनाएको छ । मध्यपहाड, चुरे र तराई भएर बग्ने स–साना नदीमा बहाव बढेकोले तटिय क्षेत्रबा बासिन्दालाई महाशाखाले आग्रह गरेको छ ।
दिनेश खबरबाट साभार