
धनगढी– सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा अन्तर्गत दोस्रो दिन शनिवार पनि नानी गौरा मनाइँदै छ । नानी गौराको दिन व्रतालु महिलाहरुले भाद्र ११ गते भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहेको छ ।
सवाँको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ। बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूलहरु पनि गौरादेवीमा चढाउने प्रचलन रहि आएको छ ।
भाद्र १२ गते दिउँसो गौरादेवीको पूजाआजा गरेपछि साँझपख मिठोमसिनो खाने चलन छ । बिरुडा र फलफूलसहित व्रतालु महिलाले सगुन फाग गाएर गौरादेवीको पूजाआजा गर्छन्। पौराणिक कालमा भगवान् महेश्वर प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त गरेको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको छ ।
दुर्वाष्टमी अर्थात अठ्यावाली यो पर्वको मुख्य दिन हो । भोलि सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ। भोलि नै महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन धारण गर्ने चलन रहिआएको छ । तागाधारी पुरुषले जनेउ धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन् । शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अँधेरी गौरा भनिन्छ ।
यो वर्ष कोरोना कारण गाउँघरमा गौराको रौनक नभएको स्थानीयवासीले बताएका छन्। कोरोना भाइरसका कारण सामूहिकरूपमा जमघट नहुनुपर्ने भएकाले गौराको रौनक नभएको हो ।
दिनेश खबरबाट साभार