डोटी: राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत अछामका ११ सुत्केरीको नि:शुल्क हवाई उद्धार गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत जिल्लाका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारसम्बन्धी कार्यविधिअनुसार ती महिलाको उद्धार गरिएको बताइएको छ ।
विसं २०७५/७६ देखि जिल्लामा सुरु भएको उक्त कार्यक्रमअन्तर्गत यही भदौ ६ गते एकै दिन दुई गर्भवतीको हवाई उद्धार गरिएसँगै हालसम्म ११ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्धार गरिएको उनले बताए ।
नि:शुल्क हवाई उद्धार सेवा कार्यक्रम लागू भएपछि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी र नवजात शिशुले अकालमै ज्यान गुमाउनु नपरेको पत्रकार विष्णु भण्डारीले बताए ।