काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार संसदीय दलको बैठक बोलाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाएको हो ।
सङ्घीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल तथा सांसदलाई निर्देशन गर्नेलगायत विषयको कार्यसूची रहेको संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।
शनिबार बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ गते बुधबार ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै बैठक बोलाउन सिफारिस गरेपछि राष्ट्रपतिले अधिवेशन आह्वान गरेकी हुन्। गत साउन ३२ गते सरकारले संसद अधिवेशन अन्त्य गरेको थियो। त्यस लगत्तै सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो ।
अन्नपुर्ण पोष्टबाट साभार