वीरगन्ज–पर्सामा पोखरी र नदीमा डुबेर २ बालकसहित ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका १२ मुर्लीमा रहेको सार्वजनिक पोखरीमा डुबेर १३ र १७ वर्षका २ बालक र बहुदरमाइ नगरपालिकामा पर्ने तिलावे नदीमा डुबेर २२ वर्षीय एक युवक रहेका छन ।
वीरगन्ज १२ स्थित मुर्ली पोखरीमा डुबेर वीरगन्ज १५ ब्रम्हचोकका उमेश महत्तोका छोरा १३ वर्षीय प्रितम महत्तो र दिनेश साहका छोरा १७ वर्षीय आशीष कुमार साहको मृत्यु भएको हो ।
शनिबार अपरान्ह ३ बजेतिर दुवैजना बालक नुहाउन भन्दै कपडा फुकालेर पोखरीमा पसेका थिए । तर अबेर साँझसम्म पनि दुवै बालक घर नफर्किएपछि अभिभावकले खोजी गरिदिन बेलुकी ७ बजेतिर वडा प्रहरी कार्यालय श्रीपुरमा खबर गरेको प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
त्यसपछि स्थानीयवासीको सहयोगमा प्रहरीले खोजतलास गर्दा शनिबार राति साढे ९ बजे तिर दुवै बालक पोखरीमा डुबेको अवस्थामा भेटिएका थिए । त्यसपछि पोखरीबाट झिकेर दुवै बालकलाई तराई हस्पिटलमा लगिएकोमा चिकित्सकले दुवैलाई मृत घोषित गरेको उनले बताए ।
यस्तै पर्साकै तिलावे नदीमा डुबेर एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बहदुरमाइ नगरपालिका २ पिपराका २२ वर्षीय श्यामकुमार साह रहेका छन् । शनिबार अपरान्ह साढे ३ बजे तिर बहुदरमाई नगरपालिका–४ स्थित तिलावे नदीमा विश्कर्मा भगवानको मूर्ति सेलाएर, नुहाउन भनेर ६/७ जना युवक नदीमा पसेका थिए । त्यस क्रममा श्यामसहित दुईजना नदीमा डुबेका थिए ।
ती मध्ये वीरगञ्ज २० हरपतगन्जका २५ वर्षीय फिरोज अन्सारीलाई भने स्थानीयले तत्कालै उद्धार गरी उपचारको लागि नारायणी अस्पतालमा पठाएका थिए । तर नदीमा डुबेर बेपत्ता भएका श्यामको शव भने शनिबार अबेर साँझ मात्र नदिको झाडीमा अड्किएको अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक खनालले बताए ।
अन्नपुर्ण पोष्टबाट साभार