धनगढी– सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बझाङ्गका ५० वर्षिय पुरूष र ४० वर्षीय पुरूषको कोभिड संक्रमणबाट मृत्यु भएको बताइएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १ हजार १५ जनाको परीक्षण गर्दा थप ५३ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १६९ जनाको पीसीआर परीक्षण गर्दा ३८ जना संक्रमित पाइएका छन् भने, ८ सय ४६ जनाको नमूना एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १५ जनामा कोरोना पुष्टि भएको बताइएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १६२ जनाको कोरोना परीक्षण भएकोमा ३६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै महाकाली अस्पतालमा ७ जनाको परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको छ ।
सुदूरपश्चिममा हालसम्म पीसीआर र एन्टिजेन विधिबाट गरि ३ लाख ३७ हजार ४ सय ६२ जनाको नमूना परीक्षण भएकोमा ४६ हजार ९ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने, ५ सय ९१ जनाले ज्यान गुमाइसकेको छन ।
दिनेश खबरबाट साभार