काठमाडौं–बेमौसमको वर्षाले मुलुकका सातै प्रदेशमा ८ अर्ब २६ करोड ८० लाख रुपैयाँबराबरको धानबाली क्षति भएको छ। बाढी तथा डुबानका कारण ३ लाख २५ हजार २ सय ५८ मेट्रिकटन धान सखाप भएको छ ।
८५ हजार ५ सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली पूर्णरूपमा क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ। यद्यपि मन्त्रालयका अनुसार आंशिक क्षतिसमेत गरेर २ लाख ८५ हजार ७६ हेक्टर क्षेत्रफल प्रभावित भएको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले प्रदेशस्तरमा तथ्यांक संकलनमा समन्वय र सहजीकरणका लागि सातवटै प्रदेशमा १÷१ वटा कार्यटोली गठन गरिएको बताए। सातै प्रदेशका कृषि मन्त्री र कृषि सचिवको बैठकले क्षति मूल्यांकनका साथै राहतबारे कात्तिक ९ गते मंगलबार छलफल गर्ने भएको छ ।
मन्त्रालयका अनुसार वर्षाका कारण सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा र कम क्षति बाग्मतीमा पुगेको छ । लुम्बिनीका कपिलवस्तु, बाँके र रूपन्देही जिल्लामा लगाइएका बाली नष्ट भएको छ । वर्षाले ४२ हजार ४ सय २७ हेक्टर जमिनमा लगाएको १ लाख ६१ हजार २ सय २३ मेट्रिकटन धान नष्ट भएको छ। लुम्बिनी प्रदेशका किसानले ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको नोक्सानी व्यहोर्नु परेको छ। कपिलवस्तुमा मात्रै ६४ हजार ३ सय ५० हेक्टरमध्ये ३५ हजार ४ सय ६३ हेक्टरको बाली नष्ट भएको बताइएको छ ।
सुदूरपश्चिम प्रदेशमा १८ हजार हेक्टर क्षेत्रफलमा ६८ हजार ४ सय मेट्रिकटनको धान नोक्सानी भएको छ। यहाँका किसानले १ अर्ब ९१ करोड रुपैयाँबराबरको क्षति खेप्नु परेको छ। कैलाली र कञ्चनपुरका कृषक बढी मारमा परेका छन्। कैलालीमा ७० हजार हेक्टर र कञ्चनपुरमा ४४ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो। कैलालीमा ३ लाख ४० हजार मेट्रिकटन र कञ्चनपुरमा १ लाख ८७ हजार मेट्रिकटन धान उत्पादन हुने गरेकोमा वर्षाले क्षति पुगेपछि आधाले कमी हुने आँकलन गरिएको छ। कैलालीमा ५४ प्रतिशत र कञ्चनपुर जिल्लामा ४२ प्रतिशत धानबाली क्षति भएको छ । कैलाली र कञ्चनपुर धान खेतीका लागि पकेट क्षेत्र मानिन्छ ।
प्रदेश १ क्षेत्रका किसानले ८० करोड रुपैयाँबराबरको क्षति भएको छ। सो क्षेत्रमा ७ हजार ४ सय ९२ हेक्टरमा २८ हजार ४ सय ६९ मेट्रिकटन बरबरको धान नष्ट भएको छ। झापा, मोरङ र सुनसरीमा बढी क्षति पुगेको छ। प्रदेश २ मा ५ हजार ३ सय ५५ हेक्टरमा २० हजार ३ सय ५० मेट्रिकटन बराबरको धान नष्ट हुँदा ५६ करोडको नोक्सानी व्यहोर्नु परेको छ। सो प्रदेशमा सप्तरी, सिरहा र सर्लाही जिल्ला बढी प्रभावित भएका छन्। कर्णाली प्रदेशको क्षेत्रमा २२ हजार ५ सय हेक्टरमा प्रभाव परेको छ। तर यसमध्ये १० हजार ५ सय ८४ हेक्टर क्षेत्रफलमा लगाएको बाली भने नष्ट हुन पुगेको छ। यहाँ ३० करोड रुपैयाँ बराबरको क्षति भएको छ। डोल्पा, जुम्ला, सल्यान, सुर्खेतका किसानले बढी क्षति व्यहोरेका छन्। गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा, कास्की, नवलपरासीको धान खेतीमा बढी क्षति पुगेको छ। सो प्रदेशमा १ हजार १ सय ९२ हेक्टरमा अत्यधिक क्षति पुग्दा ४ हजार ५ सय ३० मेट्रिकटन धान नष्ट भएको छ । यो १३ करोड रुपैयाँ बराबरको क्षति हाे ।
सबैभन्दा कम क्षति भएको बाग्मती प्रदेशमा समेत ५ सय ३० हेक्टरको जमिनमा २ हजार ६८ मेट्रिकटन परिमाणको धान नष्ट भएको छ। यसले गर्दा ५ करोड ८० लाख रुपैयाँ बराबरको क्षति हुन पुगेको हो। यहाँ चितवन र नुवाकोट जिल्लाका किसानले क्षति व्यहोर्नु परेको छ।
यसवर्ष देशभर १५ लाख हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विगतका वर्षभन्दा यसपटक धान रोप्ने मौसम राम्रो भएकाले ९८.३३ प्रतिशतको हाराहारीमा रोपाइँ भएको थियो। तर, यसपटक धान भित्र्याउनुअघि नै अधिकांश काटेर राखेको धान खेतमै डुबान र बाढीले बगाउँदा किसानले ठूलो नोक्सानी व्यहोर्नु परेको छ। गत वर्ष १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर क्षेत्रफलमा धान रोप्दा ५६ लाख २१ हजार ७१० मेट्रिकटन उत्पादन भएको थियो ।
अन्नपुर्ण पाेक्षटबाट साभार











