बाजुरा– जिल्ला सदरमुकाम मार्तडीको एक पसलमा सोेमबार राती साडे ८ बजे आगलागी भएको छ । बडीमालिका नगरपालिका वडा नम्बर १ पाटा स्थायी घर भएका ब्यापारी हरिस दानीको खुद्रा पसलमा आगलागी भएको हो ।
टीनको छाना मुनी रहेको खुद्रा पसलमा बिजुलीको तार सट भएर आगलागी भएको पाइएको छ । मार्तडीको होटेल न्यु कैलाली नजिकै रहेको सो पसलमा बिजुलीको तार टिनमा टक्रिएर आगलागी भएको हो । पहिला बिद्युतको तार टिनमा टक्रिएर आगलागी सुरु भए पछि पसलमा रहेको फ्रिजमा आगो सल्किदा पसलमा रहेका खुद्रा सामानहरु जलेर नष्ट भएका छन ।

कार्तिक २८ गते मात्र पसल सुरु गरेका दानी परिवार पसल बन्द गरेर कोठा गएको बेला आगलागी भएको हो । एक्कासी पसलमा आगलागी भएको थाहा पाए पछि घटना स्थल नजिकैका स्थानियहरुले प्रहरीलाई जानकारी दिए पछि बजारका सबै ब्यक्तिहरु, प्रहरीको टोली, पत्रकार, त्रिवेणी साना जलबिद्युतका कर्मचारीहरुले आगोलाई नियन्त्रणमा लिएका थिए ।

रातिको समयमा आगलागी भएकोले कति क्षेति भयो भन्ने अनुमान गर्न नसकिने भएकोले मंगलबार मात्र क्षतिको मुचुल्का लिन सकिने प्रहरीले जानाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका इन्सिपेक्टर बलेन्द्र नाथका अनुसार पसलमा रहेको फ्रिज सहित करिव १ लाख बढीको सामान जलेर नष्ट भएको हुन सक्ने अनुमान रहेको पाइएको छ ।











