डढेल्धुरा– सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला “देहीजाँत” शुक्रबार लाग्दैछ । उग्रतारा क्षेत्र विकास समितिका अनुसार बिहीबार रातभरी रतेडी मेला भएको थियो । रातभरी रमाइलो गरी रतेडी मेला लागेपछि शुक्रबार दिउसेडी हुनेछ । गत बर्षमा भने कोरोना भाइरस संक्रमणको जोखिमले नित्यपूजामा सिमित देहीजाँत लाग्न सकेको थिएन । यस बर्ष कोरोनाको कहर कम हुँदै गए पछि पूर्णरुपमा हुने समितिका अध्यक्ष तेजबहादुर साँर्कीले बताएका छन् ।
उग्रतारामा कार्तिक शुक्ल पूर्णिमाको रातमा रतेडी र दोस्रो दिन दिउसेडी लाग्ने गर्दछ। रतेडीपछि बिहान चार बजे धार्मिक परम्परागत रुपमा दाईन दमाह, रुईसिंग, बिकुल, भोकर, शंक, घण्टा इत्यादी बाजागाजाका साथ चार वटा गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पुजन सुरु हुन्छ ।
बिहानको पूजापछि दिउँसो भगवती माताको गाँज मन्दिरलगायत सयौं एकडमा फैलिएको मैदानको विषेश चार स्थानमा बाजागाँजाका साथ घुमाइन्छ। बिहान चार वटै गाउँको भ्राणबाट ल्याइएको माता भगवतीको देउरो बेलुका पाँच बजेपछि पुनः चार वटै गाउँको भ्राणमा लगेपछि मेला सम्पन्न हुन्छ ।
दिनेश खबरबाट साभार