धनगढी– सुदूरपश्चिम प्रदेशका सरकारी तथा निजी अस्पतालहरु कोरोना भाइरसको संक्रमितले भरिएका छन् । अक्सिजनको अभाव छ । बिरामीहरुले सहज सास फेर्न नपाएर ज्यान गुमाउनुपर्ने अवस्था छ। अस्पतालमा कोरोना संक्रमित भरिएकाले अधिकांश संक्रमित घरमै बसेका छन् । उनीहरुका लागि अक्सिजन आपूर्तिको कुनै पनि योजना सरकारी अधिकारीहरुसँग छैन्। बिरामीहरुले अक्सिजन नपाएका बेला धनगढी लगायतका क्षेत्रमा दैनिक विद्युत आउने जाने गरेकाले संक्रमितहरुलाई समस्यामाथि समस्या थपिएको छ।
कोरोना संक्रमण भइ होम आइसोलेशनमा बसेका धनगढीका पत्रकार प्रकाशराज भट्टले बिजुली आउने जाने समस्याले निकै सास्ती भएको बताए .
बत्तीको आउने जाने क्रम बढी हुनाले होम आसोलेसनमा बसेकाहरुलाई प्रत्यक्ष असर परिरहेको बताउँदै उनले भने, “पानी तताउनेदेखि लिएर सबै उपकरणहरु बत्तीबाट नै प्रयोग गरिरहेका छौँ, घण्टौँेसम्म बत्ती जाँदा समस्या भइरहेको छ । लामो समयसम्म बत्ती जाँदा गर्मीले भित्र बस्न नसकिने अवस्था छ ।”
विद्युत आउने जाने गरेका कारण होम आइसोलेसनमा रहेका संक्रमितसंगै अस्पतालमा रहेका संक्रमितहरुलाई समेत सास्ती हुने गरेको छ। विद्युत नभएपछि अक्सिजन उत्पादन बन्द भएपछि उपचारमा समस्या हुने गरेको अस्पताल सञ्चालकहरु बताएका छन् ।
अक्सिजन सापोर्टमा राखिएका संक्रमित, आईसीयू तथा भेन्टिलेटरमा राखिएका संक्रमितलाई विद्युत नहँुदा बढी समस्या हुने गरेको धनगढी उप–महानगरपालिकाका वरिष्ठ स्वास्थ्य अधिकृत कृष्ण बोहराले बताए । अनिमित विद्युतका कारण संक्रमितको ज्यान समेत जोखिमा पर्दै आएको बताउँदै उनले भने, “अस्पतालका सम्पुर्ण मसिनहरु बिद्युतले नै चल्ने हुनाले बिद्युत जाँदा समस्या भइरहेको छ । बिद्युत नियमित नहुनुकै कारण अक्सिजन नपाएर म बिरामीको ज्यान गइरहेको छ ।”
अहिले मान्छेको जीवन नै विद्युतसँग जोडिएको हुनाले विद्युत अबरुद्धताका कारण ठूलो मानवीय क्षति भइरहेको उनले बताए । कोरोना संक्रमणको बेला विद्युत मर्मतमा हुने लापरबाहीले मसिन तथा विद्युतीय उपकरणहरु बिग्रिने अर्थात बिरामीहरुले ज्यान गुमाउनुपरेको उनले बताए । सुदूरपश्चिम प्रदेशमा विद्युत आउने जाने कारणका बारेमा प्राधिकरण बेखबर देखिन्छ। जनशक्ति भएपनि मर्मतसम्भारमा भने ढिलाइ भएको हो ।
गर्मी मौसम सुरु भएसँगै ट्रान्सफर्मरमा समस्या आउने, हावाहुरीले विद्युतका पोल ढल्ने तथा तारहरु चुँडिने समस्या हुने गरेको विद्युत प्राधिकरणले जनाएको छ । तर सो बाहेकका अन्य समयमा समेत विद्युत जाने गरेको छ। नेपाल विद्युत प्राधिकरण, धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले भने कहाँ कति बेला लाइन काटिन्छ आफुहरुलाई थाहा नहुने बताए । बिग्रिएको थाहा पाएपछि मात्रै बनाउने बताउँदै उनले भने, “कतिबेला कहाँ बिग्रिन्छ थाहा हुँदैन, विग्रिएको बनाउने हो, त्यसमा समय लागिहाल्छ ।”
नेपाल विद्युत प्राधिकरणसँग विद्युतको लोडसेडिङको तालिका भने छैन् । तर धनगढीलगायतका प्रदेशका विभिन्न ठाउँमा दैनिक घण्टौंसम्म पनि विद्युत सेवा अवरुद्ध हुँदै आएको छ । गर्मी मौसम सुरुभएसँगै सो समस्या बढेको नेपाल विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जगदिश जोशीले बताए । उनले लोडसेडिङको समस्या नभएको तर मौसमका कारण आउनेजाने भइरहेको बताए ।
संक्रमितहरुलाई पानी तताउन, गर्मीमा पंखा चलाउन, अन्य खानेकुरा पकाउन र मनोरञ्जन लिन विद्युत आवश्यक हुन्छ। त्यसैले विद्युत सेवा नियमित गर्न उनीहरुले आग्रह गरेका छन् ।