बाजुरा – जिल्लाको पुर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भीरबाट आज विहान ट्रक दुर्घटना हुँदा चालक र सह चालक गरी दुई जनाको मृत्यु भएको छ ।
बाँके जिल्ला घर भएका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाहीको मृत्यु भएको जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायव निरिक्षक वीरसिंह ठगुन्नाले मालिका टुडेलाई जानकारी दिएका छन् ।
ठगुन्नाका अनुसार नेपालगञ्जबाट हुम्लाका लागि हिडेको भे १ ख ३४६८ नम्वरको मालबहाक ट्रक भीरबाट करिव पाँच सय मिटर तल खसेको बताइएको छ ।
गाडी चालक र सह–चालकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव निरिक्षक तथा चौकीका उनले बताए ।
मृतकको सनाखत भएपनि उनीहरुको शव पोष्ट मार्टमका लागि कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा ल्याउने तयारी भइरहेको प्रहरी नायव निरिक्षक ठगुन्नाले बताए ।
कर्णाली करिडोरमा संचालन भइरहेको सवारी साधनले क्षमता भन्दा बढी सामान तथा यात्रुहरु बोक्ने गरेकाले दुर्घटना बढेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । घटनाको भएको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ । सामान बोकेर आएको ट्रक तिलक शाही र विष्णु भण्डारीको रहेको बताइएको छ ।











