
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य भएको बताएका छन्। राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले राष्ट्रियता र लोकतन्त्रप्रति समर्पित सबै राष्ट्रिय शक्तिबीच मेलमिलाप, संवाद, सहमति र सहकार्य सदैव आवश्यक हुने उल्लेख गरेका छन्। उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा बिपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको ठूलो महत्व रहेको उल्लेख गर्दै सबैमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको शुभकामना व्यक्त गरेका छन्।
‘बिपी कोइराला तत्कालिन राजनीतिक व्यवस्थाले लगाएका ठूला–ठूला मुद्दाको पनि परवाह नगरी ज्यान नै जोखिममा पारेर राष्ट्रियताको संरक्षण र लोकतन्त्रको स्थापनाको उद्देश्यका साथ देशभित्र प्रवेश गर्नुभएको थियो। यो दिनले हामी सबैलाई सधैँ देशभक्ति र लोकतन्त्रप्रति प्रतिबद्धताका लागि प्रेरणा दिइरहेको छ, देउवाको सन्देशमा भनिएको छ।
२०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको आजको दिनलाई मेलमिलाप दिवसका रुपमा मनाइँदै आएको छ।……………………











