बाजुराः जिल्ला सदरमुकाममा मार्तडीमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारणको लाईन जडान गरिएको छ । सदरमुकाम मार्तडी आसपासका क्षेत्रमा संचालन हुने गरी नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईन जोडिएको हो । राष्ट्रिय प्रशारण लाईन हिजो साँझबाट सदरमुकाम मार्तडीमा जडान गरेको बाजुरा वितरण केन्द्रका प्रमुख ललित कुमार मण्डलले बताएका छन । सदरमुकाम मार्तडीलाई लक्षित गरेर हिजोबाट पहिलो पटक मार्तडीमा ११ केभिको लाईन जडान गरिएको हो । सदरमुकाम मार्तडीमा विद्युत आपूर्तिको माग गर्दै नागरिक समाज बाजुराले ३ दिनसम्म आन्दोलन समेत गरेको थियो । २०४६ सालमा स्थापना भएको बाजुरा साना जलविद्युत केन्द्र २०६६ सालबाट त्रिवेणी सहकारीले २० वर्षका लागि लिज सम्झौता गरेर संचालन गर्दै आएको थियो । २ सय किलोवाट उत्पादन क्षमताको विद्युतले मार्तडीमा लोड धान्न नसकेपछि त्रिवेणीले दैनिक जसो लोडसेडिङ गर्दै आएको थियो । दैनिक ५ देखि ८ घण्टाको लोडसेडिङको मार खेप्दै आएका सदरमुकामबासीहरुले नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईन जडान भए पछि खुसी ब्यक्त गरेका छन ।











