बाजुरा–जिल्लामा आएको अविरल असिना पानीका कारण पाकेर घर भित्र्याउनै लागेको गहुँ बालीमा ठूलो क्षति भएको छ।असिनापानीले स्याउ,सुन्तला,अनार लगायतका फलफूल समेत नष्ट गरिदिएको छ।
बुधबार आएको अविरल असिना पानीले बुढीगंगा र बडिमालिका नगरपालिकाका साथै गौमुल तथा खप्तड छेडेदह गाउँपालिकाका किसानले लगाएका गहुँ बालीसँगै आलु,प्याज,लगायतका तरकारी समेत ठूलो मात्रामा नष्ट भएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीन प्रसाद जैसीले बताउनु भयो ।
‘बर्षभरी मेहनत गरेर घर भित्र्याउने बेला असिना पानीले खेतीबाली नष्ट गरिदिएपछि के खाने र छोराछोरीलाई कसरी पाल्ने भन्ने चिन्ता कृषकहरूलाई लागेको छ’, खप्तड छेडेदह ७ का खगेन्द्र रावतले दुखेसो पोख्नुभएको छ।
यसैबीच पाकेको गहुँ तथा बर्से आलु बालीमा ठुलो क्षति पुगेकाले कृषकलाई राहत प्रदान गर्न प्रारम्भिक चरणमा क्षतिको विवरण सङ्कलनका लागि क्षतिको यकिन विवरण सम्बन्धित वडामा गई टिपाउन तथा कृषि विकास शाखा र वडा कार्यालयलाई तथ्याङ्क सङ्कलनमा आवश्यक समन्वय तथा सहजीकरण गरिदिन कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीन प्रसाद जैसीले अनुरोध गर्नुभएको छ ।











