बाजुरा,२५ जेठ- जिल्लाको बुढीगंगा नगरपालिकाले बाम्का बजारमा गएको शुक्रबार खाना पकाउने ग्यास सिलिण्डर पड्किएर आगलागी भएका पिडितलाई पाँच लाख सहयोग गर्ने भएको छ ।
आइतबार बुढीगंगा नगर कार्य पालिकाको ४४ औं कार्यपालिकाको बैठकले अग्नीबाट प्रभावित बनेका पिडितलाई राहतका लागि पाँच लाख रकम दिने निर्णय गरिएको नगर प्रमुख रामबहादुर बानियाँले जानकारी दिएका छन् ।
उनले दिएको नगरपालिकाको बैठकले पिडितहरुका लागि स्थापना गरेको राहत कोष व्यवस्थापनमा जम्मा गरेर वितरण गरिने बताए ।
शनिबार बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले एकद्धार प्रणालीबाट राहत वितरण गर्न बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गरेको छ ।
समितिले सिद्धार्थ बैंकमा खाता संचालन गरी सोही खातामा रकम जम्मा गरेर अग्नी पिडितलाई राहत वितरण कार्य अघि बढाउने राहत कोष व्यवस्थापन समितिका सदस्य कर्णबहादुर थापाले बताएका छन् ।
राहत कोषमा अन्य पालिका र विभिन्न संघसंस्थाहरुले सहयोग गर्ने थालेको छन् । आगलागीबाट ठुलो नोक्सानी भएकाले सबैलाई सहयोगमा लागि राहत कोष व्यवस्थापन समितिका संयोजक बानियाँले अपिल गरेका छन् ।
उनले बाम्का बजार पुरानै अवस्थामा ल्याउनका लागि निर्माण कार्यमा पनि जुटेको बताए । एक महिनाभित्र टहराहरु निर्माण गरी बजार संचालनमा आउने गरी काम सुरु गरिएको नगर प्रमुख तथा राहत कोष व्यववस्थापन समितिका संयोजक बानियाँको भनाई रहेको छ ।
गएको शुक्रबार बाम्कामा रहेको नवदुर्गा होटलबाट ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा ३१ पसलहरु जलेर पूर्ण रुपमा क्षती भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । आगलागीबाट सात पसल भने आंशिक रुपमा क्षती भएका छन् । आगलागीबाट करोडौंको क्षती भएको छ । क्षतिको विवरण अझै आउन सकेको छैन ।












