बाजुरा,२७जेठ- बुढीगंगा नगरपालिकाको बाम्का बजारमा गएको शुक्रबार ग्यास सिलिण्डर पड्किएर आगलागी पिडितलाई खप्तड छेडेदह गाउँपालिकाले एक लाख सहयोग गर्ने निर्णय गरेको छ ।
मंगलबार गाउँपालिकाले प्रेस विज्ञप्ती जारी गर्दै आगलागीबाट भएको ठुलो क्षतीप्रति दुःख व्यक्त गर्दै पालिकाले राहत स्वरुप सहयोग गरेको उल्लेख गरेको छ ।
सोमबार खप्तड छेडेदह गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठकले आर्थिक सहयोग गर्ने निर्णय गरी उक्त रकम हस्तान्तरण भइसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द बहादर रावतले बताए । त्यस्तै पीडितहरुका राहत तथा पुनःस्थापनासँगै आवश्यक सहयोग तथा समन्वयका लागि गाउँपालिका प्रतिवद्ध रहेको उनले बताए ।
त्यसैगरी, प्रेस विज्ञप्तिमार्फत गाउँपालिकाले आगलागीबाट पीडितहरुलाई राहत र पुनःस्थापनाका लागि तीन वटै तहका सरकारसँग माग गरेको छ ।
जेठ २३ गते शुक्रबार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्यास पड्किएर आगलागी भएको थियो ।
उक्त भीषण आगलागीबाट करिब एक दर्जन बढी पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन केहीमा आंशिक रुपमा क्षति भएको छ । त्यस्तै उक्त आगलागीबाट करिब २० करोडको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।
हाल आगलागीबाट पीडितहरुलाई सुरक्षित ठाउँमा अस्थायी टहरा निर्माण गरेर त्याँहा बसाइएको छ भने क्षतिको विवरण संकलनसँगै राहत संकलन कार्य भइरहेको छ ।
राहत संकलन तथा वितरण कार्यलाई एकद्धार प्रणालीमार्फत गर्न बुढीगंगा नगरपालिकाका नगर प्रमख राम बहादुर बानियाँको संयोजकत्वमा समिति समेत गठन भएको छ ।












