लन्डन— इटालीले स्पेनलाई टाइब्रेकरमा हराएर मंगलबार युरो २०२० को फाइनलमा प्रवेश गरेको छ । लन्डनस्थित वेम्बली रंगशालामा भएको सेमिफाइनलमा स्पेनका लागि अल्भारो मोरोटा पेनाल्टीमा गोल गर्न चुकेलगत्तै जोर्जिन्होले इटालीका लागि निर्णायक गोल गरेका थिए ।
अब आइतबार वेम्बलीमै हुने उपाधिको भिडन्तमा इटालीले इंग्ल्यान्ड अथवा डेनमार्कको सामना गर्नेछ । दोस्रो सेमिफाइनल बुधबार हुँदैछ । पछिल्ला ३३ खेलमा अपराजित इटालीले फेडरिको चिसाको गोलले ६० औं मिनेटमा अग्रता लिएको थियो ।
खेल सकिन १० मिनेट अगाडि सब्स्टिच्युटका रुपमा आएका मोराटाले बराबरी गोल गरे । ९० मिनेटमा बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । त्यसमा पनि गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।
युभेन्ट्सका फरवार्ड मोराटा पेनाल्टीमा चुकेपछि स्पेन ठूला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पहिलो पल्ट पराजित भयो । रोबर्टो मानचिनीको इटाली पछिल्ला १३ खेलमा लगातार विजयी रहेको छ र फाइनल प्रवेशका लागि टिम पूर्णत: हकदार देखिन्छ