काठमाडौंः मंसिर ७ गते काठमाडौंमा लाखौँ मानिस उतार्ने भन्दै आन्दोलनको तयारी गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं र सोही दिन नेकपा एमालेले राखेको युवा संघको कार्यक्रमले मुडभेटको स्थिति पैदा गर्नसक्ने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरिरहेका छन्।
आफ्ना उत्तेजक भाषणबाट जनताको मन जित्दै आएका प्रसाईंले व्यवस्था परिवर्तनको सुनौलो अवसर मंसिर ७ को आन्दोलन रहने बताएका छन्। यता नेकपा एमालेका नेता महेश बस्नेतले पनि आफ्ना कार्यकर्ता उपत्यकामा उतार्न निकै मेहनत गरिरहेका छन् । मेडिकल व्यवसायी प्रसाईंले लघुवित्त, बैंकहरुले जनता लाई आजित बनाएको भन्दै माफिया प्रवृत्तिको अन्त्य गर्दै नयाँ समाजको स्थापना आवश्यक रहेको बताउँदै आएका छन्।
प्रसाईंको तयारीलाई कम आँक्न नमिल्ने भन्दै सुरक्षा सतकर्ता अपनाउनुपर्ने विज्ञहरुको सुझाव रहेको छ। जनतामा असन्तुष्टि बढिरहेका बेला भइरहेको आन्दोलनले ठूलो रुप लिँदा समस्या निम्तने खतरा पनि छ। यता, नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिमा दुर्गन्ध मौलाएकोभन्दै यसको बदलामा असन्तुष्ट पक्ष सडकमा आउनु स्वभाविक भएको बताउनुभएको छ । तर, उहाँले यो व्यवस्थालाई नै चुनौति दिने कुरा स्वीकार्य नहुने पनि बताउनुभएको छ।
मुलुकमा पटकपटक राजनीतिक परिवर्तन भएपनि आर्थिक अवस्था जस्ताको तस्तै रहँदा जनतामा निराशा छाएको छ । जनतालाई सुखी, समृद्ध बनाउने आश्वासन बाँडेका व्यक्तिहरु सरकारमा जाँदा पनि उनीहरु र उनका नजिकका आफन्तको मात्रै जीवनशैली फेरिएपछि जनता निकै निराश बनेका छन्। वरिष्ठ कुटनीतिज्ञ लोकराज बरालका अनुसार जनतामा वितृष्णा आएकोले आन्दोलन भएपनि व्यवस्थामाथि नै धराप आउने परिस्थिति भइसकेको छैन।
मंसिर ७ मा गर्ने भनिएको आन्दोलन तथा सभालाई एमाले र प्रसाईं पक्षले विवेकपूर्ण ढंगले सम्पन्न गर्न आवश्यक छ । आन्दोलनमा घुसपैठ हुने परिस्थिति बन्यो भने अप्रिय हुनसक्छ। सरकारले पनि सुरक्षा सतर्कतामा ध्यान दिन जरुरी रहेको छ ।
(खासखबर)