
धनगढी: कर्णाली नदीका बेपत्ता भएका मध्ये एक जनाको मृत्यु भएको छ। कैलालीको मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको स्थानीय शिक्षक पदमबहादुर भुलले बताए। धनसराको साथमा रहेका १ महिनाका छोरा कर्ण सलामी घाइते भएको शिक्षक पदमबहादुरले बताए ।
नदीमा बेपत्ता भएका अन्य ३ जनाको अवस्था अज्ञात रहेको छ। २० वर्षीया उर्मिला सलामी मगर, उनको १० दिनको शिशु र २० वर्षीया पार्वती थापा बेपत्ता अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
आइतबार दिउँसो १२ बजे मोहन्याल गाउँपालिका–३ राँगा पलेखा नजिकै उनीहरु सवार डुंगा पल्टिएको थियो। उनीहरु सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन र उपचार गर्न गइरहेको स्थानीयले बताएका छन्। डुंगामा सवार अन्य ५ जना भने पौडिएर बाँचेको प्रहरीले जानकारी दिएको छ।
अहिले बपत्ता भएकाहरुको खोजी कार्य चलिरहेको प्रहरीले जनाएको छ ।