काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुँदैछ। शनिबार बिहान ८ बजेदेखि ५ बजेसम्म निर्वाचन हुने कार्यतालिका छ।भृकुटीमण्डपमा जारी महाधिवेशनबाट एक अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री र १४१ जना केन्द्रीय सदस्य निर्वाचित हुँदैछन् ।
अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ । उपाध्यक्षमा ९ जना, महामन्त्रीमा ६ जना र केन्द्रीय सदस्यका लागि २७६ जनाको उम्मेदवारी परेको प्रचारप्रसार संयोजक राजेन्द्र गुरूङले जानकारी दिए ।
निर्वाचनमा अध्यक्ष पदका लागि मतपत्र तथा पदाधिकारीका साथै केन्द्रीय सदस्यलाई भने विद्युतीय मतदान गर्ने व्यवस्था छ। देशभरबाट गरेर ४ हजार ७ सय प्रतिनिधि छनोट भएका छन ।महाधिवेशनमा उम्मेदवारी दर्ताबाट झण्डै ५० लाख सङ्कलन भएको राप्रपाले जनाएको छ।
पटक–पटक विभाजनबाट गुज्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल एक राजतन्त्रवादी र हिन्दू राष्ट्रवादी राजनीतिक दल हो। यसलाई पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दद्वारा गठन गरिएको थियो। राष्ट्रिय पञ्चायत समाप्तपछि पूर्वप्रधानमन्त्रीद्वय थापा र चन्दले यसको नेतृत्व पटक–पटक गरिसकेका छन्।
राप्रपाका शीर्ष नेताहरुका अनुसार यो पार्टीलाई पञ्चायतकालको सत्तारुढ कुलीन वर्गले २०४७ साल जेठ १५ गते गठन गरेका थिए। २०४८ मा पार्टीमा आएको प्राविधिक मतभेद्का कारण यो विभाजित हुन पुगेको थियो। दुई पार्टी एकै नाम, विचारधारा र विधानको साथ अस्तित्वमा आएका थिए। सूर्यबहादुर थापाको नेतृत्व र अर्का नेता लोकेन्द्रबहादुर चन्दको नेतृत्वको पार्टीले आम निर्वाचन २०४८ मा सहभागी भएका थिए। तर, यो पार्टीको इतिहास हेर्दा अहिलेसम्म पाँच पटकभन्दा बढी विभाजन भइसकेको छ ।
विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा थापा अध्यक्ष हुँदा राप्रपाले राजसंस्था र हिन्दू धर्मको नारामा राम्रो जनमत पाएको थियो। २०६४ को संविधानसभा निर्वाचनमा राप्रपा नेपाल राजसंस्था र हिन्दू राष्ट्रकै नारामा दोस्रो पटक २५ सिटमा उक्लिएको थियो ।
तर पछिल्लो समय कमल थापालाई हिन्दू राष्ट्र र राजतन्त्रको नारालाई राम्ररी पक्रन नसकेको आरोप छ। त्यही भएर पनि पूर्वराजा ज्ञानेन्द्र शाहले अध्यक्षका लागि लिङ्देनलाई ‘ग्रिनसिग्नल’ दिएको बताइएको छ ।