
धनगढीः धनगढीमा डेरा गरी कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत २० वर्षीया जानकी चौधरी आज महेन्द्रनगरस्थित म्यादी प्रहरीमा भर्ना हुन् आवेदन दिँदै गर्दा भेटिइन्। सुरक्षा निकायमा जागिर गर्ने रहर रहेको बताउँदै उनले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा म्यादी प्रहरीका लागि आवेदन दिएको बताइन्। यहाँको शुक्लाफाँटा नगरपालिका–१२ दुबाह घर भएकी चौधरीले यसअघि आफूले सशस्त्र र नेपाल प्रहरीको जवान पदमा पनि दरखास्त दिएको जानकारी दिइन्।
“मेरै आफन्त मात्रै यहाँ म्यादीमा भर्ना हुन छ÷सात जनाभन्दा बढी आएका छन्”, उनले भनीन्, “पछि गएर प्रहरीमा भर्ना हुन सहज होला भन्ने सोचेर म्यादीका लागि आएकी हुँ।” उनीसँगै म्यादी प्रहरीमा भर्ना हुन महेन्द्रनगर पुगेकी शुक्लाफाँटाकै सङ्गीता चौधरीले म्यादी हुने रहरले भर्ना हुन आएको बताइन्। प्रमाणपत्र तहमा अध्ययनरत सङ्गीताले म्यादीबाट आउने तलब सुविधाले केही समय खर्च चल्ने आसले आएको बताइन्। “घरबाट पनि भर्ना हुन जान सहमति दिए”, चौधरीले भनीन्, “अनुभव पनि होला भनेर आएँ।”
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा म्यादी भर्ना आवेदन खुलेयता दैनिक ५०० देखि एक हजार आवेदनका लागि धाइरहेका छन्। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सरकारले म्यादी भर्ना आवेदन खुला गरेसँगै कञ्चनपुरका ग्रामीण बस्तीबाट भर्नाका लागि सयौँ युवा, विद्यार्थी, कृषकदेखि गृहिणीसम्म आइरहेको प्रहरीले जनाएको छ।
आजको दिनेश खबरबाट साभार











