
बाजुरा– आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सत्ता गठबन्धनका तीन दलको चुनावी आम सभा बडीमालिका नगरपालिका–७ चुथीबाट सुरु गरेको छ । जिल्लामा सत्ता गठबन्धनका तीन दल नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले आइतबार संयुक्त रुपमा चुनावी आम सभा सुरु गरेका हुन् । बडीमालिका नगरपालिका सहित जिल्लाका अन्य पालिकामा समेत गठबन्धनका उम्मेदवारलाई जिताउने गरी चुनावी अभियान घर दैलो भेटघाट गर्न थालिएको छ । बडीमालिका नगरपालिकामा गठबन्धनका उम्मेदवार धनराज पण्डित र राधिका सिंहको सिङ्गो टिमलाई मतदान गरी जिताउनका लागि एकतावद्ध भएर लाग्ने आम सभामा सहभागी नेताहरुले बताएका छन् । गठबन्धनको आम सभापछि जनतामा उत्साह देखिएको छ । काँग्रेसले लिएको नितीलाई आत्मसाथ गर्दै पार्टीका उम्मेदवारलाई जिताउनका लागि नेता तथा कार्यकर्ता मतदातासंग घरदैलो अभियानमा गएका छन् । बडीमालिकाको ढम्कने,रजातोली जिल्ली लगायतका गाउँमा गठबन्धनका उम्मेदवार पण्डित ,सिंह र वडाध्यक्षका उम्मेदवार धनलाल पाध्याय सहित वडा सदस्य तथा अन्य कार्यकर्ता घरदैलोमा पुगेका छन् । चुनावी घरदैलो अभियानमा मतदाताको उत्साहजनक सहभागिता र काँग्रेसप्रतिको मोह देखाएका बताइएको छ ।











