बाजुरा- जिल्लाको बडीमालिका नगरपालिकामा करारका कर्मचारीले आइतबार ताला लगाएका छन् । गत बिहीबार बसेको नगरपालिकाको १३औं कार्यपालिका बैठकले २०७४ पछि नियुक्त भएका करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेपछि करारका कर्मचारीले तालाबन्दी गरेका हुन् ।
उनीहरुले राजनीतिक पूर्वाग्राही रुपमा आफूहरुमाथि विभेद भएको बताएका छन् । कार्यपालिकाले करारका कर्मचारीलाई करार अवधि नथपेपछि आफूहरुले तालाबन्दी गरेको बलबहादुर रावलले बताए ।
उनका अनुसार नगरपालिकाका प्रमुख अमरबहादुर खड्का र उपप्रमुख नन्दा थापाले आफूनिकटका कर्मचारीको करार अवधि थप गरेका छन् । ‘फरक आस्था भएका कर्मचारीलाई विनाकारण हटाइएकोप्रति ध्यानाकर्षण गराउँदै माग पूरा नभएसम्म तालाबन्दी यथावत् राख्ने तयारी गरेका छौं,’ उनले भने ।
करार कर्मचारी सबैको नियुक्ति खारेज वा म्याद नथपिएका कर्मचारीको म्याद थप गर्नुपर्ने मागसहित ४९ जना खारेजमा परेका कर्मचारीले तालाबन्दी गरेको छन।