बाजुराः ग्लोबल आईएमई बैंक बाजुरा शाखाले महिला सुरक्षित आवास गृहलाई आर्थिक सहयोग गरेको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको आज अन्तिम दिनको अवसरमा बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत बाजुरामा रहेको महिला सुरक्षित आवास गृहलाई आर्थिक सहयोग गरेको हो । आइतबार सदरमुकाम मार्तडीस्थित खुल्ला मञ्चमा भएको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन कार्यक्रममा ग्लोबल आईएमई बैंक बाजुराले सो कार्यक्रमको अवसरमा बिस हजारको चेक सुरक्षित आवास गृहलाई हस्तान्तरण गरिएको ग्लोबल आईएमई बैंक बाजुरा शाखाका प्रबन्धक भेषराज देवकोटाले बताए ।
लैङ्गिक हिंसामा प्रभावित महिला तथा बालबालिकाहरुलाई केहि सहयोग पुगोस् भन्ने उदेश्यका साथ आवस गृहलाई आर्थिक सहयोग गरिएको ग्लोबल आईएमई बैंक बाजुरा शाखाका प्रबन्धक देवकोटाले बताए । अहिले सानो आर्थिक सहयोग भएपनि आगामी दिनहरुमा थप सहयोग गरिरहने प्रतिबद्धता ब्यक्त गरेका छन । त्यसै गरि हरेक बर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म अन्तराष्ट्रिय रुपमा बनाइने लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान बाजुरामा एक कार्यक्रमका बिच आज समापन गरिएको छ । १६ दिनसम्म लैङ्गिक हिंसा रोकथामका लागि १६ दिने अभियानमार्फत विभिन्न कार्यक्रम गरेर मनाइने अभियान डिसेम्बर १० अर्थात आज समापन भएको हो ।
लैङ्गिक हिंसाको प्रतिकार तथा कानुनी उपचारका बारेमा देशको संविधानमा नै प्रष्ट उल्लेख गरिएकाले घर तथा समाजमा हुने कुनै पनि प्रकारका हिंसा कसैले पनि सहेर नबस्न कार्यक्रममा बोल्ने वक्ताहरुले आग्रह गरेका छन । बडिमालिका नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना र पिसविन नेपाल, उपाहार नेपाल, युनएपपिए, भिएसो, आइपास, एचआरसी साहस नेपाल, गिफ्ट नेपाल लगायतका संस्थाहरुको समन्वयमा सुरु गरिएको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रमको समापन गरिएको छ ।
वडा नंः ८ का वडा अध्यक्ष तथा कार्यवाहक नगर प्रमुख चन्द्र बहादुर थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल रहेका थिए । त्यस्तै बिशिष्ट अथितिमा बडिमालिका नगरपालिका प्रमुख प्रसाशकिय अधिकृत देवेन्द्र सापकोटा, बडिमालिका नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख केशरी रोकाया लगायत रहेका थिए भने अथितिमा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख कबिन्द्रसिंह बोहरा, सशस्त्र प्रहरी अश्रीत गुल्म प्रहरी नावय उपरीक्षक संकरदत्त तिवारी, ग्लोबल आईएमई बैंक बाजुरा शाखाका प्रबन्धक भेषराज देवकोटा, सर्वसाधारण, बिद्यार्थी, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन बडिमालिका नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा सहायक अधिकृत बिन्दु बडालले गरेकी थिइन् ।