बाजुरा/ बडीमालिका नगरपालिका वडा नम्वर ९ का १० जना दलित महिलालाई आत्मनिर्भर बनाउन ३ महिने सिलाई कटाई तालिम दिईएको छ ।लुथरन विश्व फेडेरेसन नेपालको आर्थिक सहयोग तथा गिफ्ट नेपालको आयोजनामा असोज १ गतेबाट मंसिर ३० गतेसम्म संचालन भएको ३ महिने सिलाई कटाई तालिमको आज एक औपचारिक कार्यक्रमका विच सम्पन्न गरिएको छ ।एल.डब्ल्यु.एफ को प्राविधिक र गिफ्ट नेपालको आयोजनामा संचालित सहास परियोजना अन्तरगत बडीमालिका –९ का १० जना महिलालाई ३ महिने सिलाई कटाई तालिम दिईएको र तालिमको आज एक औपचारिक कार्यक्रमका बीच बडीमालिका नगरपालिकामा सम्पन्न गरिएको गिफ्ट नेपालका प्रवन्धक कृष्ण अधिकारीले बताएका छन् ।
तालिम अवधिभर सिकेका कुराहरुलाई व्यवहारमा उतार्न निरन्तर लागिरहने तालिममा सहभागी निर्मला उखेडाले बताएकी छन् । उनले भनिन् यो तालिमले महिलाहरुलाई आत्मनिर्भर बन्न सजिलो हुनेछ ।तालिम समापन कार्यक्रममा वडा नम्वर ९ का वडा अध्यक्ष सूर्यकिरण विकले वडा भित्रका दलित तथा विपन्न परिवारका महिलाहरुका लागि गिफ्ट नेपालले दिएको यो तालिमले महिलाहरुलाई स्वरोजगार बन्न सजिलो हुने बताएका छन् ।सिलाई कटाई तालिमको समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख नन्दा कुमारी थापाले घरको चुलो चौकोमा मात्रै सिमित रहेका महिलाहरुलाई व्यवसाय नै सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बनाउन यो तालिमले महत्वपूर्ण सहयोग पुग्ने बताएकी छन् । उनले नगरपालिकाले महिलाहरुलाई उद्यमसँग जोड्ने यस्तै किसिमका अन्य उपयोगी तालिम समेत सञ्चालन गर्दै जाने बताईन् ।
३ महिने तालिमको बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्काले तालिममा सहभागिहरुलाई प्रमाणपत्र र सिलाई कटाई सम्वन्धिका सामाग्रीहरु हस्तान्त्रण गर्दै सम्पन्न गरेका छन् । तालिमको समापन गर्दै नगरप्रमुख खड्काले महिलाहरुलाई सहज जीवनयापनका लागि यो तालिम अतिनै महत्वपूर्ण रहेको बताए । उनले सीप सिकेर व्यवसायिक बन्न तालिममा सहभागि महिलाहरुलाई आग्रह समेत गरेका छन् ।नगरभित्रका महिलाहरुलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सके मात्रै नगरको समृद्धि हुने भएकोले यस्ता सिपमुलक तालिमका लागि आफुले पालिकाबाट सक्दो सहयोग गर्ने नगरप्रमुख खड्काले बताएका छन् ।त्यस्तै समापन कार्यक्रममा बोल्दै प्रशिक्षक झलकबहादुर नेपालीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न सहभागि महिलाहलाई आग्रह गरेका छन् । तालिममा सहभागी महिलाहरुलाई करिव १४ हजार बरावरको सिलाई कटाइ सम्वन्धिको सामाग्रीहरु समेत प्रदान गरिएको छ ।
गिफ्ट नेपालका कार्यक्रम प्रवन्धक कृष्ण अधिकारीको अध्यक्षतामा गरिएको समापन कार्यक्रमको प्रमुख अतिथि बडीमालिकाका नगरप्रमुख अमरबहादुर खड्का रहेका थिए । कार्यक्रममा उपप्रमुख नन्दा कुमारी थापा, बडीमालिका ९ का वडा अध्यक्ष सुर्यकिरण विक, कार्यपालिका सदस्य तुलसी नाथ विशिष्ट अतिथी रहेका थिए । कार्यक्रमको संचालन गिफ्ट नेपालद्धारा संचालित सहास परियोजनाका जिविकोपार्जन प्रर्वद्धक जयराज जैशीले गरेका थिए ।