बाजुराः जिल्लामा संचालन हुदै आएका जय मालिका यातायात प्रा.लि बाजुराका जीपहरु आजको लागि बन्द हुने भएका छन । यातायात प्रा.लि.का महासचिव देवेन्द्र नाथको बिहीबार राति घटमुनाबाट सियाढुंगा जादै गरेको से १ ज ९८९ नम्बरको जीप काल्चे भीर नजिकै अनियन्त्रित भइ दुर्घटना भएर मृत्यु भएपछि शोक मनाउन एक दिन जीपहरु नचलाउने निर्णय गरेको जय मालिका यातायात प्रा. लि बाजुराले जनाएको छ ।
शुक्रबार सूचना जारी गर्दै यातायात प्रालिले सहासिक र लगनशिल युवा व्यवसायी गुमाएकाले शोक मनाएर उहाँको सम्मानका लागि एक दिन जीप सेवा बन्द गरिने उल्लेख गरिएको छ । जय मालिका यातायात प्रा.लि बाजुराका अध्यक्ष पृथ्वी रावलले हस्ताक्षर गरेको सूचनामा यातायात सेवा शनिबार बन्द हुने भएकाले सेवाग्राहीमा पर्ने असुविधाप्रति क्षमा मागेका छन्।












