धनगढी: सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका छन् । सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
तर दुई दिनपछि प्रदेश प्रमुख नजिर मियाले दुवै जनाको दाबी नपुगेको भन्दै पुनस: २ दिन समय दिएर फेरि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका हुन् ।मियाँले संविधानको धारा (६) को (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न ६ वैशाखको साँझ ५ बजेसम्म समय दिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घ भट्टले जानकारी दिए ।
मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिबाटै २ जनाको दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाले दलहरुसँग अध्ययनका लागि २ दिनको समय मागेका थिए । नागरिक उन्मुक्तिकै दुई जनाको दाबी परेको र उसका ७ जनाको समर्थन लक्ष्मणकिशोरलाई हो वा कैलाशलाई भन्ने कुराको स्पष्टता नभएकाले प्रदेश प्रमुख नजिर मियाँले दुबैको दाबी खारेज गरी बैशाख ६ गते विहीबार बेलुकी ५ बजेसम्म स्पष्ट बहुमत खुल्ने गरी मुख्यमन्त्रीमा दाबी पेश गर्न सूचना जारी गरेका छन ।
नागरिक उन्मुक्तिबाट मुख्यमन्त्री दाबी पेश गरेका लक्ष्मणकिशोर रेशम पक्षका हुन भने कैलाश रञ्जीता पक्षका हुन । ७ जना प्रदेश सभा सदस्य रहेको नागरिक उन्मुक्तिभीत्र ५ जना रेशमको पक्षमा र २ जना रञ्जीताको पक्षमा देखिएका छन ।
यसअघि मंगलबार दिउसो नेकपा एकीकृत समाजवादीले पनि लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको थियो । समाजवादीका संसदीय दलका नेता दीर्घ बहादुर सोडारी आफै प्रदेश प्रमुखको निवासमा पुगेर समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख मियाँलाई बुझाएका थिए ।
५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा १ जनाको निधन भएपछि अहिले ५२ प्रदेश सभा सदस्य छन । काँग्रेस १८, माओवादी सभामुख सहित ११, नेकपा एमाले उपसभामुख सहित १०, नागरिक उन्मुक्ति पार्टी ७, समाजवादी ४, राप्रपा १ र स्वतन्त्र १ जना सदस्य छन । सरकार बनाउनका लागि २७ जनाको बहमुत आवश्यक पर्छ ।











