मिन बहादुर खड्का,बाजुराः भारतबाट घर जान्छु भनेर हिडेकी एक महिला बीच बाटोबाटै बेपत्ता भएकी छन् । बेपत्ता हुने महिला खप्तड छेडेदह गाउँपालिका ३ टुनिसैनकी अन्दाजी ४५ वर्षीय राधीका खड्का रहेकी छन् । उनी विगत तीन चार वर्ष यता श्रीमान चन्द्र खड्काको साथमा भारतमा बस्दै आइरहेकी थिइन् ।
श्रीमान श्रीमती दुबै भारतमा ज्याला मजदुरी गर्दै आएका थिए । हाल सम्पर्क बिहिन् रहेकी राधिका खड्का चन्द्र खड्काकी दोश्रो श्रीमती हुन् । उनले आफ्नो श्रीमतीको मृत्यु पछि करिब ८ वर्ष पहिले राधिका संग दोश्रो बिवाह गरेका थिए । राधिका त्यसपश्चात् निरन्तर ८ वर्ष श्रीमान् चन्द्र खड्काको साथमा बस्दै आएकि थिइन् । भतिजको बिवाहका लागि घर जान्छु भनेर गत अप्रील १० तारिख भारतबाट हिडेकी उनी पछिल्लो दिन धनगढी पुगेपछि त्यो दिन देखि नै सम्पर्क बिहिन रहेको उनका श्रीमान् चन्द्र खड्काले बताएका छन् ।
सबै ठाउँ खबर गर्दा कतै पनि सम्पर्कमा नआएको उनको भनाई छ । अहिले परिवारको सम्पर्कमा नरहेकी राधिकाको पुरानो पोइली घर अछाम रहेको बुझिएको छ । उनको पुरानो पोइली घरमा उनका छोराछोरी समेत छन् । उनी भारतमा हुँदा पुराना पोइली घरबाट उनका छोराले उनलाई फोन समेत गर्ने गरेको श्रीमान् चन्द्र खड्का बताउन्छन् । अहिले उनी पुरानो पोइली घर नै गएको हुन सक्ने अनुमान समेत गरिएको छ । यद्यपि उनी भने परिवारको सम्पर्कमा आएकी छैनन् ।
यता श्रीमान् चन्द्र खड्काले आफ्नो सम्पर्कमा श्रीमती नआएको तर आफ्नो घरमा छोरीलाई फोन गरेर पुरानो पोइली घरको छोराले आफु संगै राखेको भन्ने जानकारी गराएको बताएका छन् । तर अहिले भने फोन गरेर आफ्नो आमा आफु संगै रहेको बताउने रोशन रोकाया पनि फोन अफ गरेर सम्पर्क बिहीन् छन् । पारिवारिक श्रोतका अनुसार उनले भनेका थिए “ मेरो आमा हुन् , ८ वर्ष सम्म हामीले खोज्यौ“ कतै भेटाएनौ, अब हामीले भेटेका छौँ, हामी संगै बसाउन्छौँ, अब आउँन दिदैनौ, तपाईहरुको सामान म पुर्याइदिन्छु ।
उनी राधिकाका पुरानो श्रीमानबाट का जेठा छोरा हुन् । तर उनी अहिले आफै फोन अफ गरेर बसेका छन् । नत उनले सामान नै पठाइदिएका छन् । उनले हाल सम्पर्क बिहिन अवस्थामा रहेकी राधिकालाई परिवारको सम्पर्क भन्दा टाढा राखेको बुझिएको छ । श्रीमान चन्द्र खड्काका अनुसार उनी भारतबाट छिमेकीको नासो र घरको सामान र नगद रुपियाँ सहित १ लाख बढीको सामाग्री लिएर घर फर्किएकी थिइन् । यदि उनी पुरानो पोइलीघर नै गएकी हुन् भनेपनि सम्पर्कमा आएर जानकारी गराई आफ्नो सामाग्री र नगद पैसा फिर्ता दिनुपर्ने श्रीमान खड्काको भनाई छ ।
अहिले बेपत्ता रहेकी राधिका पुराना पोइलीले दुःख दिएको भन्दै खोलामा हाम फाल्न लागेको अबस्थामामा ८ वर्ष पहिले हालका श्रीमान चन्द्र खड्काले भेटेपछि उनलाई बचाउन सफल भएका थिए। खोलाबाट हाम फाल्नबाट जोगाएपछि त्यसपछि कुराकानी गरेर दुबैको सहमतिमा बिवाह गरेका थिए।
श्रोतका अनुसार पुराना पोइली घरका आफन्त र उनका छोराछोरीले उनलाई नियन्त्रणमा राखेको बुझिएको छ । उनलाई फोन समेत नदिएर परिवारको सम्पर्कमा आउन नदिएको समेत श्रोतको दाबी छ । हाल परिवारको सम्पर्कमा नरहेकी राधिका सम्पर्कमा आएर पुराना पोइलीले नियन्त्रणमा लिएको कुरा पुष्टि भएमा कानुनी बाटो रोज्ने समेत श्रीमान चन्द्र खड्काको भनाई छ ।