काठमाडौँ — नेकपा एमाले का वरिष्ठ नेता माधवकुमार नेपालले संसद् पुन: स्थापना भएकोमा खुसी साट्दै सांसदहरूलाई बधाई दिएका छन् ।
प्रतिनिधिसभा पुन:स्थापनापछि पहिलो पटक आइतबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले भने, हामी सबैलाई मर्नबाट जोगाइएको छ । संसद फेरि पुनर्जीवित भएको छ । हामी सबैलाई बधाई छ । एउटा संघर्षबाट सफल भएर भेट भएको छ ।
उनले महामारीका बेला तत्कालै चुनावमा जानुपर्ने स्थिति टरेको भन्दै अब संसद्लाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । संसद् पुन:स्थापना नभएको भए हामी कोरोना फैलाउँदै, आफू पनि संक्रमित हुँदै भोट माग्न गाउँगाउँ जानुपर्ने अवस्था हुने थियो । त्यसको अन्त्य गरेका छौं । अब संसद्लाई प्रभावकारी बनाएर लौजानुपर्नेछ उनले भने ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले असार २८ गते पुन : स्थापनाको फैसला गरेको थियो ।
नेता नेपालले नयाँ सरकार बनेको र यो सरकारले अघिल्लो सरकारका नराम्रा अनैतिक किसीमका कामबाट सिकेर सचेत भई अघि बढ्नुपर्ने पनि उनले बताए ।