बाजुरा:जिल्लाको स्वामिकार्तिक गाउँपालिका वडा नं १ मुक्तीकोटमा पहिरोले घर बगाउदा ३ परिवार पालमुनि बास बसिरहेका छन् । गत साउन ६ गते राती आएको अविरल वर्षाका कारण माथीबाट पहिरो आएपछि मुक्तीकोटका ११ परिवार प्रभावित हुनुका साथै हाल ३ परिवारको बसोबास पालमुनि रहेको स्वामिकार्तिक गाउँपालिका वडा नं १ का वडाध्यक्ष जनक बहादुर रोकायाले बताए ।
उनका अनुसार गत साउन ६ गते राती आएको अविरल वर्षाका कारण मुक्तीकोट नजिकैको मेलामा आएको पहिरोबाट बाजुराकै दुर्गम, दलित बस्तीका ११ परिवार पहिरोबाट प्रभावित भएको र ३ परिवारका घर पूर्ण रुपमा विस्थापित भई उनीहरु अहिले पालमुनि बसिरहेको जानकारी प्राप्त भएको छ ।
गत साउन ६ गते रातीको पहिरोपछिको अवस्था बुझ्न प्रहरीको र वडाध्यक्ष सहितको टोली साउन ७ गते नै मुक्तीकोटमै पुुगि क्षती भएको विवरण संकलन गरी गाउँपािलकाको पहलमा नेपाल रेडक्रस सोसाइटी बाजुराका शाखा, गाउँपालिकाको सहयोगमा त्रिपाल लगायतका अत्यावश्यक सामाग्री तथा खाद्यान्न लिनका लागि पिडितलाई गाउँपालिकामा बोलाएको भएपनि पिडीतहरु गाउँपालिकासम्म नआएको राहात गाउँपालिकामै थन्किएको वडाध्यक्ष रोकायाले बताए ।
यता मुक्तीकोटमा पहिरो पिडित ३ परिवार आफै पालको व्यवस्थापन गरी वर्षायामका दिन गुजारीरहेका छन् भने पहिरो प्रभावित परिवार पनि मोलेरै क्षतीग्रस्त घरमा बसिरहेका छन् ।
स्वार्मिकार्तिक गाउँपालिकाले शनिबार भने गाउँपालिका अन्य स्थानका पहिरो पिडित ५० परिवारलाई राहात वितरण गरेको गाउँपालिकाले जनाएको छ ।