धनगढी: तुइन तरिरहेका एक पुरुष महाकाली नदीमा बेपत्ता भएका छन् । दार्चुलाको ब्यास गाउँपालिका –२ मालमा तुइन तर्ने क्रममा सोही ठाउँका ३५ वर्षीय जय सिंह धामी महाकाली नदीमा बेपत्ता भएका हुन् ।
धामी शुक्रबार विहान गाउँबाट दार्चुला सदरमुकाम जानका लागि भारतको बाटो हुँदै तुइन तर्दै गर्दा बेपत्ता भएका प्रत्यक्षदर्शी जनक सिंह धामीले बताएका छन । प्रत्यक्षदर्शी धामीका अनुसार तुइनबाट तरेको भन्दै भारतीय एसएसबीले धम्क्याएर तुइन खोल्न लगाउँदा तारले तानेपछि उनी नदीमा हुत्तिएका हुन् ।
नेपालतर्फ सडक नभएको हुँदा ब्यास क्षेत्रका स्थानीयहरु खलंगा जानका लागि भारतको बाटो भएर महाकाली नदीमा तुइन तर्नुपर्ने बाध्यता छ । घटनाबारे प्रहरी चौकी दुम्लीङलाई जानकारी गराएको बताइएको छ ।