बुटवल : ‘न्याय नपाउँदासम्म हाम्रा पैतालाहरू दुख्ने छैनन्,’ शनिबार बुटवलको तिनाउपुलमा भेटिएकी अधिकारकर्मी रुवि खानले भनिन्, ‘आफ्नै जिल्लामा न्याय नपाएपछि राजधानी हिँडेका हौ ं।’ १४ (११ म्हिला, ३ पुरुष) जनाको समूह हातमा ब्यानर बोकेर ९ दिनको यात्रा गरी लुम्बिनीको सदरमुकाम बुटवल आइपुगेको छ । उनीहरूको यात्रा बल्ल आधा सकिँदैछ । ५ सय १५ किलोमिटर पैदल यात्रा गर्दै उनीहरू सिंहदरवारमा न्याय माग्न पुग्ने छन् ।
हातमा बाँसका लौरा बोकेका उनीहरूको यात्रा अनवरत छ । पैदल यात्राका अनेक चुनौती छन्, घाम, पानी, थकान, भोक, प्यास । तर, उनीहरूले नन्कुन्नी धोवी र निर्मला कुर्मीको न्याय प्राप्तिलाई लक्ष्य बनाएर हिँडेका छन्। सहरमा आउँदा स्थानीय अधिकारकर्मीहरू पनि केही समयका लागि उनीहरूको टोलीमा मिसिन्छन् र न्यायका लागि अपिल गर्छन् ।
गत साउन ५ गते बाँकेकी नेवाजी गाउँकी धोवी घरमै झुण्डिएको अवस्थामा भेटिइन्। प्रहरीले पोस्टमार्टममा नकुन्नीले आत्महत्या गरेको देखिएको दाबी गरेको छ । तर, प्रहरीको कुरा अस्वीकार गर्दै उनका भाइ माताप्रसादले घरेलु हिंसाबाटै उनको मृत्यु भएको बताएका छन् ।
प्रहरीले पोस्टमार्टम रिपोर्ट देखाउँदै छानबिन गर्न आनाकानी गरेपछि उनीहरूले न्यायको माग गर्दै अधिकारकर्मी र नागरिक समाज गुहारे। बाँकेको धेरै स्थानमा विरोध कार्यक्रम पनि भए । तर, छानबिन अघि बढेन ।
धोवीसँगै उनीहरूले बाँकेकै परस्पर गाउँकी अर्की एकल महिला कुर्मी हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै ११ दिन धर्ना बसे । निर्मला गत मंसिर १६ गतेदेखि बेपत्ता छिन्। प्रहरीले उनको मृत्यु भइसकेको जनाएको छ । मृत्यु के कारण भयो भन्ने नखुलाउने प्रहरीले शवसमेत देखाएको छैन । निर्मला हराएपछि किटानी हाजेरी दिइएको थियो। उनको सम्पत्तिको लोभमा हत्या भएको हुन सक्ने अधिकारकर्मीहरू बताउँछन् ।
न्यायका लागि जिल्ला प्रशासन कार्यालयमा उनीहरू धर्ना बसे । तर, उनीहरूमाथि प्रहरीले धरपकड गर्यो । जिल्लामै न्याय पाउने अवस्था नदेखिएपछि उनीहरू सिंहदरवार जाने निधो गरी पैदल यात्रामा निस्किए । उनीहरू सिंहदरवार पुगेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेछन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पीडितको मागबमोजिम नै घटनाको अनुसन्धान गरी प्रहरीले सरकारी वकिलमा फाइल पेस गरेको बताउँछन् । सरकारी वकिल कार्यालयले सो फाइललाई मुल्तवीमा राखेको उनले बताए । ‘हाम्री दिदीजस्तै कयौं दिदीबिहिनीको हत्या गरिएको छ । तर, सरकारले न्याय दिँदैन,’ माताप्रसादले भने,‘न्याय नपाउँदासम्म संघर्ष जारी राख्नेछौं ।’
नेपालगन्जका यी दुई घटना प्रतिनिधि मात्रै हुन्। यीबाहेक लुम्बिनी प्रदेशमा दर्जनौं महिलाको शंकास्पद मृत्यु भएको छ । लुम्बिनी प्रदेशमा पछिल्लो २ महिनामा मात्रै यस्तै प्रकारका आधा दर्जन घटना भएका छन् । तर, प्रहरीले अनुसन्धान गरेको छैन ।
रुपन्देहीको तिलोत्तमामा सीता भण्डारीको मृत्युपछि आफन्तहरू आन्दोलनमा छन् । १२ दिन हुँदासमेत उनको शव उठेको छैन । श्रीमान्सँग सुतेकी उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन । सो घटनामा श्रीमान्ले आफूले केही थाहा नपाएको दाबी गरेका छन् । प्रहरीले यो घटना पनि आत्महत्या भएको दाबी गरेको छ ।
गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा १५ वटा मृत्युमा आत्महत्या दुरुत्साहन मुद्धा चलाइएको छ। अघिल्लो वर्ष त्यो ४५ वटा मृत्युमा हत्या दाबी गरिएको थियो । यी घटनामा प्रहरीको अनुसन्धान निकै कमजोर हुँदै आएको रुपन्देहीकी अधिकारकर्मी इन्दिरा आचार्य बताउँछिन् । प्रहरीले आत्महत्या किटान गरेर मात्रै पन्छिने गरेको अधिकारकर्मीको आरोप छ ।
रुपन्देहीका प्रहरी प्रमुख मनोज केसी यस्ता घटनाको अनुसन्धान र प्रमाण जुटाउनै मुस्किल हुने बताउँछन् । मुद्दा चले पनि अहिलेसम्म हत्या दुरुत्साहन मुघामा कोही दोषी करार भएका छैनन् ।











