धनगढी: सोमबर सेती प्रादेशिक अस्पतालमा ३० वर्षीया एक महिलाको कोरोना भाइरसका कारण मृत्यु भयो। धनगढीकी ती महिला सामान्य ज्वरो आएपछि एक साताअघि अस्पताल भर्ना भएकी थिइन्। यसअघि उनको स्वास्थ्यमा कहिले समस्या नआएको छिमेकीको भनाई छ। त्यस्तै कोरोना भाइरसका कारण मृत्यु भएका ४० वर्षीय एक पुरुषको शव घण्टौसम्म अस्पतालको गेटमा राखिएको थियो। २०७८ बैशाख तेस्रो सातासम्म सेती प्रादेशिक अस्पतालमा मात्र २६ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
मृत्यु हुनेमा सवै भन्दा बढी युवा वर्ग नै रहेको अस्पतालले जनाएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले दिएको जानकारी अनुसार गरिखाने र हुने खाने उमेरका व्यक्तिको कोरोना भाइरसका कारण मृत्युदर बढ्दै गएको छ। सुदूरपश्चिममा पछिल्लो समय कोरोना भाइरसका कारण मृत्युदर भयावह बन्दै गएको छ। गत वर्ष विशेषगरी वृद्धवृद्धामा बढी संक्रमण देखिएकोमा यस वर्ष युवा र बालबालिकामा बढी देखिएको छ। कोरोना भाइरसका कारण मृत्यु हुनेमा युवाको संख्या उच्च देखिएको अधिकारीहरुले बताएका छन ।
अहिले समुदायस्तरमा कोरोना फैलिसकेको अवस्था छ। गतवर्ष सीमामा सतर्कता अपनाएकै कारण धेरै हदसम्म मृत्युदर नियन्त्रणमा रहेकोमा यो वर्ष सीमा क्षेत्रमा नियन्त्रणका लागि सरकारले काम गर्नुपर्नेमा लापरवाही भइरहेको अधिकारीहरु बताउँछन् ।
संक्रमणको चक्र त चलि नै रहेको छ। तर यसलाई व्यापक हुन नदिन सीमामै संक्रमितको पहिचान गरेर कडाई गर्नुपर्ने चिकित्सकको सुझाव छ। विभिन्न सभा समारोहमा सहभागी हुने, विभिन्न आन्दोलनहरुमा अग्रमोर्चामा खटिने तथा काम गरेर परिवार पाल्दै आएका विशेष गरी युवा वर्ग भाइरसका कारण मृत्यु वरण गर्नुपरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए ।
नयाँ भेरियन्टसहितको कोरोना भाइरस तीव्र गतिमा फैलिने खालको हुन्छ भनेर यसअघि नै अनुसन्धानले देखाएको थियो। अहिले हरेक साता गएको वर्षभन्दा छिटो छिटो यो भाइरस फैलिरको छ ।
तर दोस्रो चरणको कोभिडविरुद्धको खोप लगाएकाहरुलाई भने कोरोना देखिने गरेपनि मृत्यु हुने संभावना भने न्यून रहने अधिकारीहरु बताउँछन्। सीमा सम्बन्ध जोडिएका क्षेत्रहरुमा होल्डिङ सेन्टर बनाएर प्रदेश र स्थानीय सरकारले भाइरस रोकथामका लागि विशेष पहल गर्नुपर्ने सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताए। उनले खोप सेवा बन्द गर्नुभन्दा खोप अभियानलाई अझ सशक्त बनाएर युवा वर्गलाई बचाउनेतर्फ राज्यको ध्यान जानुपर्नेमा जोड दिए ।
सुदूरपश्चिम प्रदेशमा मात्र २०७८ बैशाख २० गतेसम्म ७१ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ। जनस्वास्थ्यविद्हरूले गतवर्ष नै कोरोनाको दोस्रो लहर आउन सक्ने चेतावनी दिँदै सतर्कता अपनाउन सुझाव दिएका थिए ।
यद्यपि, यो बीचमा स्वास्थ्य मापदण्डको पालना कडाइका साथ हुन नसक्दा यूके भेरियन्टको कोरोनाको दोस्रो लहरले मृत्युदर बढीरहेको बेला सरकारले भने उल्टै कोरोना भाइरस विरुद्धको खोप सेवा नै बन्द गरेर जिम्मेवारीबाट पन्छिन खोजेको सरोकारवाला बताउँछन् ।
यो समाचार आजको दिनेश खबरमा छापिएको छ ।