बाजुरा– जिल्लाकाे पुर्वि उत्तरी भेगमा पर्ने वुढीनन्दा नगरपालिकाले खेताला र हेरालालाई मासिक भत्ता दिने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० बाट लागु हुने गरी नगरपालिकाले मासिक भत्ता दिने भएको हो । कामको मुल्याङ्कन गरी प्रोत्साहन स्वरुप मासिक ६ हजार भत्ता दिने नगरपालिकाको निती तथा कार्यक्रममै उल्लेख भएको वडा नं तीनका वडाअध्यक्ष तथा नगरपालिकाका प्रवक्ता जंगवीर रोकायाले जानकारी दिनुभयो ।
नगरपालिकामा अहिले कार्यविधि र तथ्याङ्क सङ्कलनको काम भईरहेको छ । खेताला र हेरालाई मासिक भत्ता दिन वार्षिक ३ लाख १९ हजार वजेट विनियोजन भएको प्रवक्ता रोकायाले बताउनुभयो । खेताला र हेराला नयाँलाई नियुक्ति नगर्ने, गाउँ, टोलमा यस अघि देखि काम गर्दै आएका स्थानीयलाई नै प्राथमिकता दिईने उहाँले बताउनुभयो । बाजुरामा विशेष गरी असार, साउन, भदाै, असोज र कार्तिक गरी पाचँ महिना धान रोपाई देखि भित्र्याउने समय सम्म खेताला राख्ने चलन छ भने वर्ष भरी हेरचाह गर्ने गरी हेराला राखिन्छ ।
गाउँमा खेताला राख्ने चलनले धान रोपाईका वेला पानीको सहजता हुने, आलोपालो गरी रोपाई गर्न सकिने र स्थानीयलाई दैनिक खेतमा पानी लगाउन सहज हुने बताईएको छ । वालि नालिको संरक्षण हुने, पशुचांैपाया र जंगली जनावारबाट जोगाउन सकिने हुदा हेराला राख्ने परम्परा रहेको छ ।











