
बाजुरा – जिल्लाको पुर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाकी एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
सुत्केरी गराउन कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएकी सोही नगरपालिका–६ की २१ वर्षीया मनिशा भण्डारी(खत्री)लाई राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी लोकेन्द्र विष्टले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार कोल्टी प्राथमिक स्वाथ्य केन्द्रले स्थानीय स्तरमा सुत्केरी व्यवस्थापन हुन नसक्ने भएकाले हवाई उद्धारका लागि पत्र पठाएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा गर्भवती भण्डारीको उद्धार गरिएको उनले बताए ।
भण्डारीलाई सुत्केरी हुने म्याद गुज्रेको अर्थात प्रसव व्यथा लामो भइसकेकोले कोल्टीमा सुत्केरी गराउन सम्भव नभएपछि रिफर गरेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी दिव्या जोशीले बताएकी छन् ।
उनलाई शनिबार दिउसो ३ बजे नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।











