बाजुरा– जिल्लाको बुढिनन्दा नगरपालिमा १ एक जनाको मृत्यु भएको छ । कालाजारका कारण बुढीनन्दा १ का ५२ बर्षिय पर्वलाल गुरुङ्गको मृत्यु भएको बताइएको छ । कालाजारबाट लामो समयदेखि थलिएका पर्वलालको उपचार अभावका कारण मृत्यु भएको स्थानिय हिक्मत वडले बताएका छन् ।
सरकारले कालाजारको जाँच देखी उपचार सम्म निःशुल्क गर्ने व्यबस्था गरेको भएपनि पर्वलालको भने उपचार अभावमा मृत्यु भएको हो । कालाजारबाट थलिएका पर्वलाललाई कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले रिफर गरेको थियो तर पर्वलाल सँग उपचार गर्ने पैसा नहुदा उपचारमा अभाबमा घरमै मृत्यु भएको उनकी श्रीमति पानकला गुरुङ्गले बताईन् । पर्वलालको मृत्यु सँगै उनको तिन परिवार बिच्चलीमा परेको छ ।
उनलाई यहाँ उपचार सम्भब थिएन्, हामीले सक्ने जति उपचार गर्यौ, कालाजार बाट निकै सिकिस्त थिए, आफुहरुले नेपालगञ्ज वा काठमाडौ जानु भनेका थियाँै प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिका डा. चेत बहादुर धामिले बताए ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले उनलाइ नेपालगञ्ज रिफर गरेको थियो, तर पैसा भएन आफन्तले घरमा लगेका थिए । पैसाको जोहो धेरै ठाउँमा हारगुहार गरेका थियौ, कतै बाट पैसा नपाएपछि उपचारमा लग्न नसकेर मृत्यु भएको श्रीमति पानकलाले रुदै भनिन् ।कोल्टि क्षेत्रमा २ बर्ष अघि कालाजारबाट एक बालिकाको पनि मृत्यु भएको थियो । स्वामीकार्तिक गाँउपालिका ५ जेरा बस्ने १३ बर्षिय भाग्य शाहिको उपचारका क्रममा काठमाडौको कान्ति बाल अस्पतालमा मृत्यु भएका हो ।
बाजुरामा २ बर्षयता १४ जनामा चेकजाँच गर्दा कालाजार भेटिएको छ । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा १३ र एक जिल्ला अस्पताल बाजुरामा गरि १४ जनामा कालाजार भेटिएको हो । कालाजार कर्णाली नदिसँगै जाडिएको स्वामिकार्तिक खापर, जगन्नाथ, हिमाली गाउँपालिका र बुढिनन्दा नगरपालिकामा भेटिएको हो ।
कालाजारको उपचार बाजुरामा हुने भनेपनि कहिले औषधि नहुने समस्याले जिल्ला बाहिर नेपालगञ्ज, धनगढी, सुर्खेत जानुपर्ने बाध्यता रहेको छ । बाजुरा बाट रिफर गरेर धनगढी नेपालगञ्ज पठाइने गरेको अस्पताल बाजुराले जनाएको छ । तराई मात्र देखिने यो रोग पहाडि क्षेत्रमा देखिने यो सरुवा रोग भएकाले समयमै सरकारको ध्यान जान जरुरी रहेको नागरिक अगुवा प्रदिपराज जैशीले बताएका छन् ।
स्वास्थ्य कार्यलय बाजुराका प्रमुख महेश चन्दले भने त्यो क्षेत्रमा कालाजार रोग देखा परेको बताएका छन् । यो क्षेत्रमा ३ बर्ष पहिला मलेरिया रोग समेत देखा परेको थियो । अहिले फाटफुट रुपमा कालाजार देखा पर्दै आएको स्वास्थ्यकर्मीले बताएका छन् । बाजुराका बुढिन्नदा नगरपालिका, स्वामिकार्तिक, हिमाली र जगन्नाथ गाँउपालिका निकै जोखिम रहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । यी स्थानिय तह निकै बिकट भएकाले कालाजार सम्बन्धि चेतना र नियन्त्रणका लागि पहल नगरे माहामारी फैलन सक्ने स्वास्थ्यकर्मीको भनाई छ ।