धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकबाट शाहले विश्वासको मत पाउनुभएको हो।
मुख्यमन्त्री शाहले प्रदेश सभा बैठकमा विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा ४१ मत र विपक्षमा ११ मत परेपछि सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहले विश्वासको मत प्राप्त गरेको घोषणा गनुएभयो । माओवादीको सुदुरपश्चिम प्रदेशले शाहलाई विश्वासको मत नदिने निर्णय गरेको बताए पनि केन्द्रीय अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले शाहलाई विश्वासको मत दिएर कांग्रेससँगको सत्ता साझेदारी अघि बढाउन निर्देशन दिएपछि माओवादीका सांसदले पनि शाहलाई विश्वासको मत दिएका हुन् । शाहलाई नागरिक उन्मुक्ति पार्टीका सात सांसदले पनि विश्वासको मत दिए ।
यसअघि विश्वासको मत प्राप्त गर्न नसकेर एमाले नेतृत्वको सरकार ढलेपछि शाह गत माघ २६ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका (सभामुखसहित) ११, नागरिक उन्मुक्तिका सात, नेकपा एसका चार, रापप्रा र स्वतन्त्रका एक एक सांसद छन् ।