बाजुरा । विस २०३७ साल असारमा निर्माण गरिएको जिल्ला कारागार भवन अहिले जीर्ण बन्दैगएको छ । पुरानो डिजाइनमा निर्माण गरिएको सो कारागार जिल्लाको लामो समयसम्म मर्मत सम्भार नभएपछि जीर्ण बन्दैगएको हो ।विस २०३७ असारमा बनेको सो कारागार जीर्ण बन्दै गए पनि मर्मत सम्भारको काम भने कतैबाट नभएको कारागार बाजुराले जनाएको छ । कारागारका चौकीदार रुपेस रावलले भने, “कारागार निर्माण गरिएको लामो समय हुँदा पनि कतैबाट मर्मत सम्भार नभएपछि कैदीबन्दीलाई बास बस्न र सुत्न निकै समस्या भएको छ बताएका छन ।”
२५ जनालाई मात्र राख्नेगरी बनाएको कारागार बाजुरामा अहिले ३७ कैदी १८ जना थुनुवा गरी ५५ जना बस्दैआएको बताएका छन । क्षमता भन्दाबढी कैदी र थुनुवा यसभित्र हुलेपछि अहिले उनीहरुलाई सुत्न बस्नलाई समस्या भएको चौकिदार रावलले बताएका छन।कारागारको अवस्था निकै नाजुक छ, यसको मर्मत सम्भारका लागि धेरै ठाउँमा कुरा राख्दैआएका छौ । तर कतैबाट मर्मतको काम नभएको कारागार बाजुराका जेलर हङ्शबहादुर बोहराले बताएका छन ।
उनले भने, “यस कारागारको पर्खालसँगै सडक खनेको छ, त्यसबाट अवैध सामान भित्र फाल्न सकिने निकै सम्भावना छ । धेरै पटक बाहिरबाट अवैध सामग्री फाल्ने प्रयास गरिएको छ ।”कारागार कार्यालयको सुरक्षाका लागि अहिले दैनिक १७ जना नेपाली सेना र ४ जना नेपाल प्रहरी जवान बस्नेगरेको कारागारका जेलर बोहराले बताएका छन ।











