
मिन बहादुर खड्का बाजुराः आज बिजया दशमीको आठौं दिन अष्टमीको दिन हो । नेपालीहरुको महान चाडपर्व बिजया दशमी चलिरहेको छ। गाउँघर तथा सहरमा हर्ष, उल्लास, उमङ्ग, उत्साह सबको मनमा छाएको छ, टाढिएकाहरु नजिकिएका छन् । पोइली घरमा गैसकेकी दिदिबहिनीहरु पनि माइतीमा आएकी छन् । प्रदेशमा गएकाहरु, पनि घर फर्किएका छन् । तर सम्भव भएकाहरु मात्रै फर्किएका छन् । सहरमा जस्तै रमझम गाउँघरमा छैन,अझ गाउँघरमा पनि हुने खानेहरुको र हुँदा खानेहरुको दशै एउटै छैन, धनी र गरिब यो दशैले छुट्याउन्छ, छुट्याइदिएको छ । नछुट्याउनुपर्ने हो त यो भैरहन्छ तर हुनु हुँदैन,कसैको चुलोमा आगो बलेको छैन, हिजो जे पाक्थ्यो त्यहीँ पाकेको छ, समय फेरियो,खानाको परिकार फेरिएन, दशै आयो, घरमा खुसी आएन,वर्षातामा हामी बाजुरा बासिलाई दुस्ख कष्ट नै हुन्छ, कमाई खाने खेतगडा खेतिपाती लगाउने जमिन बगाएको छ। बाढीले खेत बगायो, केही समय अगाडी भुकम्प आयो, बस्ने घर भत्कायो,अहिले पनि कयौं पीडित परिवारहरुको बास बहिरै छ। बाढीले कमाई खाने खेतको आली (खेतगडा) बगायो, भुकम्पले घर भत्कायो, यी दुई पिडाको घाउ निको हुन नपाउदै फेरि त्यसमा नुन चुक छर्न दशै आयो, त्यो पनि पीडा बोकेर आयो,मन बल्झायो, र दशै चलिरहेको छ। गाउँघरमा पनि रमझम छ । त्यहिबई सबैको दशै, दशै जस्तो छैन।
कसैको घरमा पैसाको अभाब छ, सबै संगै छन्, कसैको घरमा प्रदेशीएका छोरा फर्केका छैनन् , कसैलाई दशै कसलाई दशा यसरी नै चलिरहेको छ यो सालको दशै आएपनी गरिबी बाध्यता र परिस्थितिले खुसी साथ जिउँन दिएको छैन। वर्ष दिनमा घुमी फेरि दशै आयो, प्रेदेशी आएनन् , घर आउने सपना नबुनेका होइनन् , तर आउन पाएनन् , छुट्टी पाएनन् , साहुले घर आउन दिएनन् , घर आउन नचाहेका कहाँ हुन् र ? घर आउने रहर कसलाई पो हुँदैन, जन्मदिने भगवानरुपी आमाबुबा, स्वर्गभन्दा, प्यारो जन्मभूमि, बलापनमा संगै खेलेका साथी संगी गाउँका पिपल चौतारा, दशैमा संगै बसेर टीका अनि जमरा लगाएको, साथीसंगै रमाउदै मेला हेर्न गएको, पिङ खेलेको यादहरुले घरदेशी र प्रदेशीलाई सताइरहेको छ। घरदेशमा हुने भन्दा प्रदेशमा हुनेहरूलाई बढी मन पिरोलिरहेको होला, एकपटक सोचौं प्रदेशीको मन कुन्नि कस्तो भएको होला ? घर आउन नपाँउदा, आमाबुवालाई आउँन्छु भनेर धाँटे, दिदिबहिनीलाई छोराछोरीलाई, अनि दाजुभाईलाई, धाँटेका होइनन् आउन नपाएका हुन् , अर्थात छुट्टी नपाएका हुन । यो पिडाले ग्रस्त मेरो परिवार पनि हो। यो पिडाले मलाई पनि छुएको छ तपाइँलाई पनि सम्भव तह तपाईं हामी सबै नेपालीलाई छुएको छ, हरेक वर्ष रुवाएको छ, पीडा दिएको छ, दिइरहनेछ ।
मिठो मसिनो खाने, नौलो लगाउने अनि तडकभडकका साथ दशै मनाउने कुरा त हामी गरिब नेपालीका लागि दिवा सपना जस्तै हो, वर्षदिनमा एकपटक आउने महान चाडपर्व दशै अनि तिहार सबै घरपरिवार संगै बसेर दशै मनाउन नपाउँदा आज आफैलाई दशै, दशै जस्तो लागिरहेको छैन, कताकता खल्लो महसुस भैरहेको छ। झन्डै तीन वर्ष पछि मात्रै घरमा दशै मनाउन पाइओ,घर परिवारको संख्या १४ बढी छ, तर घरमा ५ जना मात्रै छौँ, चाडपर्वमा जति रमाइलो गर्न खोजेपनी सबै संगै नहुँदाको पीडा कती छ कती, मन भारी भएको छ, कुनै दिन संगै दशै मनाएको सम्झनाले मन बल्झाइरहेको छ। पिडाले मन पिरोलिरहेको छ, कस्तो न कस्तो उकुसमुकुस झै भैरहेको छ
। उसो त यो दशैमा मात्रै होइन सधै जसो दशै यसरी नै मनाउनुपर्ने बाध्यता छ।
सबै संगै हुन नपाएनी,दशै मनाइयो, तर मनाए पनि नमाने जस्तै हो, प्रदेशमा भएका दाई अनि भाइहरुको सम्झनाले मन भारी हाम्रो नी भएकै थियो नै, त्यसैले आमा बुवाले पटकपटक दाईको नाम लिदै हुनुहुन्थ्यो,र माइलो दाइको नाम लिदै भन्नुहुन्थ्यो, कठै तेरो दाई त अहिले डिउटीमा होला, हामीले पो दशै मनायौ, उसको त काम नगरी हुँदैन, क्या गरु, खादा रे खादाई बा खायाको पनि कुखायो हुँदो छ हाम्रा, अहिलका साल त तेरा दुई भाई त छौँ, पोहोरका वर्ष त कोही नाई एक्लाई क्या दशै हुँदा हुन् , क्या खानु छियो क्या दशै मनाउनु छियो (थियो) रुदाई रुदाई खायौं, आमाले खाना खाने बेला रुदै सुनाउनुभयो, बुवाको पनि आमाले गर्नुभएको कुरामा समर्थन थियो, पोहोर सालको कुरा गर्दै हुनुहुन्थ्यो, झन मन भारी हुन्थ्यो, आमा बुबाको मन न हो हामीले जति सम्झाउने कोसिस गरे पनि आमाबुबाको चित्त बुझ्ने र आफुलाई समाल्ने कुरै भएन, हिजो बेलुका खाना खाँदा पनि आमाले रुदै खाना खानुभयो, आजबिहान पनि रुदै खानुभयो, बुबा नरोई बस्ने कुरै भएन,हामी दुई साइलो र कान्छो घरमै हुँदा पनि उहाँहरुलाई सम्झाउन सकिएन, उहाँहरुको आखाको आशु थाम्न सकिएन ।
चित्त बुझाउन्थे पनि कसरी, हामी भन्दा अगाडि जसलाई छोरा भन्नुभएको थियो,जो जमिदा सुरुमा आमाबुबा बन्ने अवसर पाउनु भएको थियो,उहाँहरु नै घरमा हुनुहुन्न,हामी नजन्मिदै कयौंपटक उहाँहरु संग दशै मनाउनु भएको थियो बुवाआमाले, अर्को कुरा बाआमाका लागि सबै सन्तान एउटै हुन् , छोराछोरी बिना रमाउन सक्ने संसारमा कुनै आमाबुबा छैनन्, हुदैनन् पनि एकपटक सोचे दुई दाई भाई हामी संगै हुँदा त आमाबालाई यती धेरै पीडा कोही नहुँदा कति पीडा हुँदो हो, घरमा उकुसमुकुस जस्तै भयो, घरबाट निस्किए,घरदेखि अलि अगाडि एक जेठी आमा भेटिनुभयो, मलाई कहिले आई बा भनेर सोधिहाल्नु भयो, मैले जवाफमा हिजो बेलुका आए भनेर भने, र सोधे खाना खानुभयो, उहाँले जवाफमा भन्नुभयो, क्या खानु खानु छियो, (थियो) घरौडा कोहि नाई,अहिलका वर्ष एकपन घरथी नाई, सार्है, पेट पोल्याको छ, पोहोरका वर्ष त कान्छो छोरो घरै हुँदा छियो,अहिलका वर्ष त उ पन बाइगयो, आउदा छन् कि सोच्या कोई आयाइन, जेठी आमाको दुखेसो पनि सुने, दुस्ख नमान यसै छ क्या गर्नु, अर्को साल अब राम्ररी मनाउनु भने, अली पर गाउँकै एक बौजु भेटिनुभयो, बौजुले सोधिहाल्नु भयो, कहिल आया, बेला बासा आया, हिजो बेलुका आए तमी निकिई छौँ बौजु, (सन्चै छौँ) ? खाना खाया,दशै कसरी मनाया, मासु आन्याके नाई,सधैजसो मोजाक गर्दै मैले सोधेँ,तर बौजुको मलिन अनुहार देखिन्थ्यो,मैले मजाक गर्दा सधैं हासेर जवाफ फर्काउने ती बौजुको अधरमा (ओठमा) मुस्कान देखिएन , मैले माजाक गरेरै हसाउने प्रयास गरे, तर हास्नुभएन,
जुन जस्तै अनुहारमा सुकिला दाँत देखाएर हास्ने उहाँको हासो नदेखिनुको कारण यहीँ थियो, दाई घर आएनन् , बरु आउन्छु चाहिँ भन्नुभएको थियो, पहिलो कुराको जवाफ नआउँदै मैले अर्को कुरा सोधेँ, दाई आउनुभएन भनेर रिसाउनुभयो कि क्या जो बौजु (भाउजु) बल्ल जवाफ दिदै भन्नुभयो, आएनन् भनेर पनि के चित्त दुखाउनु, बाबु, प्रदेश नजाउ भनेपनी के गर्नु छोराछोरी के भनेर पाल्नु, परिवार कसरी चलाउनु, छोराछोरी बुवा कहिले आउन्या हुन् भनेर सोध्दा सोध्दा आज अष्टमी भैगयो, क्या दशै मनाउनु, एक्लाईले, यो मेरो गाउँकि बौजुको मात्रै पीडा होइन, कयौं नेपाली छोराछोरीले बुबाको बाटो कुर्दै थिए, कयौं श्रीमतीले श्रीमान आउने बाटो हेर्दै थिइन् डाडापारीका घाम भैसकेका बुढा बा, सेतै फुलेकी बुढी आमाले दैलोमा बसेर छोरा घर पुग्ने दिन गन्दै थिए, तर कति फर्के, कती फर्केनन् ,कति अर्को साल फर्किन्छन् कती फर्किदैनन्, कती आए कती प्रदेशमै हराए, अत्तोपत्तो छैन, कयौं नेपाली आमाहरूले प्रदेशीको बाटो हेर्दाहेर्दै आफ्ना काख रित्त्याएकी छन् , कयौं नाबालक टुहुरा बनेका छन् , प्रदेशी जीवनकै कारण कयौं नारिका सिँउदोको सिन्दुर पुछिएको छ, धन कमाउन आकाशमा उडेर गएकाहरु बाकसमा फर्किएका छन् । प्रदेशिने क्रम पनि जारी छ, लास बनेर फर्किने क्रम पनि जारी छ । बरु प्रदेशिने क्रम जारी छ, रोकिएको छैन,
त्यसकारण पनि खल्लो भयो यो वर्षको दशै तिहार,यो मेरो घरको मात्रै पीडा होइन, हरेक नेपाली आमाहरूको पीडा हो, यो साल दुई छोरा संगै दशै मानाउने हाम्री आमासंग अर्को साल हामी नै नभैदिन सक्छौं, वर्षको एक पटक आउने महान चाडपर्वमा संगै बसेर मनाउने खुसी बाड्ने रहर कसलाई पो हुँदैन, तर रहरले मात्रै नपुग्दो रहेछ । हामी संग नभएको खुसी हो, सुख हो, बाँकी अभाव, गरिबी, बाध्यता, सबै छ, त्यसकारण हामी संगै हुँदैनौ, संगै दशै मनाउन पाउदैनौ, यो हाम्रो रहर होइन बाध्यता हो, यो मेरो घरको मात्रै कथा व्यथा होइन, मेरो छिमेकीको पनि कथा व्यथा हो,अझ भनौं अधिकांश गरिब नेपालीका घरको कथा व्यथा हो,मेरी आमाले जस्तैः कयौं नेपाली आमाले आज आशुको नदी बगाइ हुन् , अघिल्लो वर्ष पनि बगाइन अर्को वर्ष पनि बगाउने छन् , कयौं आमाले जमरा छरिनन, कयौं प्रदेशीका निधार खाली हुनेछन्,टीका र जमरा लाउन र पाउने छैनन् , कयौं दिदिबहिनीले फुलका माला उइनिने छैनन् , कयौं दिदिभाईका निधार खाली हुनेछन् , देशमै रोजगारी भैदिएको भए आज सबैको दशै दशै जस्तो हुन्थ्यो होला तर राज्य जिम्मेवार छैन,र यो क्रम चलिरहने छ, राज्य सञ्चालन गर्नेहरूले गरिबका यी कथा व्यथा प्रति चाँसो राख्लान कि नराख्नलान ?
अन्तमा समृद्ध नेपाल सुखी नेपालीको गुणगान गाएर सत्ताको बाकडोर समालीरहेका जनताका अभिभावकहरुको ध्यान कहिले जाला ? प्रदेशीने क्रम कहिले रोकिएला, देशमै रोजगारीको सिर्जना कहिँले होला ? चुनाबका बेला गरिब जनतालाई युद्धमा हुमाए झैँ लडाइँमा हुमाएर भएपनि चुनाब जित्ने र पद प्रतिष्ठा र सत्तामा पुग्नेहरु किन बुझ्दैनन् । प्रदेशिनेहरुको पीडा र उनीहरुको कथा व्यथा, दिन गुजार्नकै लागि युवाहरु बिदेश पठाएर ल्याइने समृद्धि कस्तो हो सरकार ?प्रदेशिने क्रम जारी छ राज्य मौन छ । सत्ताको खिचातानी र होडबाजी गर्नमै समय खर्चिएका छन् राष्ट्रबादको खोल ओढेर नाङ्गो नाच देखाइरहेका छन् । जिम्मेवार व्यक्तिहरु नै ! प्रदेश गएकाहरु कयौं फर्किन्छन् , कयौं फर्किदैनन् , कयौं प्रदेशमै हराएका छन् , बेपत्ता भएका छन् ,अहिले सम्म अत्तोपत्तो छैन, राज्यले खोजीतलासी सम्म पनि गर्दैन, खोजिहाल्यो भनेपनी पहुँच वालाहरुको मात्रै खोजी हुन्छ ।
सर्वसाधारण जती हराए जो हराएकै छन् ,सरकार संग सम्भव तह त तथ्यांक समेत छैन । यसरी प्रदेशिएको छोरा घर फर्केलान भनेर घरको पिडिमा बसेरा प्रदेशी छोराको बाटो पर्खेरा बसेका कयौं बाजुरेली आमाहरुको छोरा घर फर्केका छैनन् । समय परिवर्तन भयो , अवस्था वयवस्था फेरियो, नेतृत्व फेरियो, सरकार फेरबदल भए , तर प्रदेशिने क्रम अझै रोकिएको छैन । गाउँ घरमा पानी थिएन खानेपानीको व्यवस्था भयो । सडक निर्माण भए, बिजुली जले, नजिक अस्पताल बने, सञ्चारको सुबिधा पुग्यो तर जन्मदिने बुवा आमा आफ्नो जन्मभूमि जानुपर्ने बाध्यता हटेन । हटाउनका लागि प्रयास समेत गरेको पाइदैन । नेताहरुका भाषणमा रोजगारीको सिर्जना गर्ने कुरा सुन्न पाइन्छ । तर व्यवाहारमा भने कार्यान्वयन हुँदैन । चुनावमा भोट माग्दा गाउँमै रोजगारीको सिर्जना गर्छौं भन्ने नेताहरु चुनाव जितिसके पश्चात् आफ्नो दुनु सोझ्याउन बाहेकमा ध्यान कतिपय दिदैनन् । चुनावका बेला गाडी भाडा तिरिदिएर मतदान गराउन गाउँ बोलाउने जनप्रतिनिधिहरु चुनाव पछी गाउँमै रोजगारी किन लगाउन सक्दैनन् सर्वसाधारण यहीँ प्रश्न गर्दै आएका छन् । गत मंसिर ४ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा बाजुराबाट निर्वाचित प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यलाई मतदान गरेर भारत गएकाहरु कति त दशैमा घर फर्केनन् । कोही फर्किन्छन कि फर्किदै गर्दैनन् त्यो पनि निश्चित छैन ।नेताहरूलाई अहिले प्रदेशी चाहिएका छैनन् ,न त चिन्ता छ न त चाँसाे नै छ।बरु पाँच वर्ष पछि जरुर हुनेछ र फेरि बोलाउने छन् हात पाँउ जोड्ने छन्
जनता जहिले दुस्खमा छन् रोइकराई गरिरहेका छन् अनि जनताको सुख सुविधा बाहेकको समृद्धि कस्तो किसिमको समृद्धि ल्याउन खोज्दै छ सरकारले आश्चर्य जनक कुरा होइन र ? आआफ्नो तर्फबाट लागौं, जागौ, उठौ, प्रदेशिने क्रम रोकौ,हामी आफै रोकिएन प्रयास गरौँ, हुँदा खानेहरुको र हुने खानेहरुको दशै तिहार एउटै होस् , हर्ष उल्लास, उमङ्ग, उत्साहका साथ बितो गरोस् आफ्नै देशमा केही गर्ने शक्ति नवदुर्घा भवानीले हामीलाई दिउँन् , राज्यले पनि प्रदेशिने क्रम रोकनलाई ठोस योजना बनाएर अगाडि बढोस्,टीका लगाइन्छ निधारबाट खस्छ, तपाइँहरुको भाग्य नखसोस् , पिङ खेलिन्छ चुदिन्छ दोरी सम्बन्ध कहिँले नचुडियोस् यहीँ शुभकामना ।
बिजया दशमी तथा शुभदिपावलीको हार्दिक मंगलमय शुभकामना
मिन बहादुर खड्का रेडियो पौरखीमा कार्यरत रहेका छन छन्