
बाजुराः पहिलेका पुस्ताले बनाएका बाजुरामा धर्मशाला लोप हुँदै गएका छन् । नुनु, तेल ल्याउनका लागि हाट जाने बेला हटारुलाई बास बस्न सहज हुने गरी बनाएका धर्मशाला पछिल्लो पुस्ताले खासै चासो नदेखाउँदा लोप हुँदै गएका हुन् । त्रिवेणी नगरपालिका वडा नं–८ का दिनेश सार्कीले, पहिलेका पुस्तालाई दैनिक उपभोग्य सामाग्री ल्याउन झन्डै दुई हप्ता लाग्ने गरेको बताउनुभयो । हटेरुहरुलाई बास बस्न सहज हुने गरी गाउँका धर्मीहरूले गोरेटो , घोरेटो बाटोको बिच बिचमा धर्मशाला निर्माण गर्ने गरेको बताउनुभयो । मनमा शान्ति हुने र पछिल्लो पुस्ताका लागि पनि राम्रो सन्देश दिने गरी गाउँका अगुवाले जिल्लाका विभिन्न ठाउँका बाटोमा धर्मशाला बनाउने गरेको सार्की बताउनुभयो ।
बाजुराका विभिन्न ठाउँमा देखिने धर्मशाला अहिले बिस्तारै लोप हुँदै गएका छन् । बाजुराको पोरखेलेख , पौवा , नागेश्वरी , अछामको बुढामगर टोटासाल लगायतका धर्मशाला समेत पछिल्लो समयमा लोप हुँदै गएका छन् ।अहिले ती अधिकांश धर्मशालाको नाम निसान छैन । ती धर्मशाला केही ध्वस्त भएका छन् भने केही अहिले पनि भग्नावशेष अवस्थामा रहेका छन् । बाजुराको पोरखेलेखमा रहेको धर्मशाला पनि अहिले भग्नावशेष अवस्थामा देखिएको छ । जिल्लाको पूर्व उत्तर क्षेत्रमा रहेका हिमाली , जगनाथ , स्वामिकार्तिक खापर , बूढी नन्दा लगायतका स्थानीयहरूलाई हाट जाँदा रात परेपछि त्यसैमा बास बस्ने गरेको स्थानीयले बताएका छन् । अहिले गाउँमा गाडी पुगेसँगै यो धर्मशाला पनि भग्नावशेष अवस्थामा रहेको बुढी नन्दा नगरपालिका –९ का स्थानीय पदम रोकायाले बताउनुभयो । पुराना पुस्ताले भारतको टनकपुर नेपालको राजापुर , दिपायल डोटीबाट हाट ल्याउने समय बास बस्न सहजताका लागि बनाएका धर्मशाला पछिल्लो पुस्ताले चासो नदेखाएकोले बिस्तारै लोप हुँदै गएका हुन् ।
पहिला बाजुराको सबै सरकारी काम काज दिपायल , डोटी बाट नै हुने गर्दथ्यो । त्यति बेला यहाँका स्थानीय सो काम लागि दिपायल नै जाने गथ्र्ये । त्यहाँ जाने आउनेहरूलाई बाटोमा बस्न सहज हुने गरी पुस्ताले विभिन्न ठाउँमा धर्मशाला बनाउने गरेको रोकायाले बताउनुभयो । इतिहास जीवित पार्नका लागि अहिलेको स्थानीय सरकारले त्यस्ता पुराना पुस्ताले निर्माण गरेका भौतिक संरचनाहरू जीवित राख्नु पर्ने हो । उल्टै धर्मशाला भत्काएर त्यसैमा गाडी सडक बनाएर ध्वस्त पार्ने गरेको रोकायाले बताउनुभयो ।