
बाजुराः नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराले आपतकालिन व्यवस्थापन कोष स्थापना गरेको छ ।शुक्रबार एक औपचारिक कार्यक्रमका बीच जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले कोषको उद्घाटन गरेका छन् ।जिल्लामा विपदमा परेकालाई राहत उपलव्ध गराउन र विरामीहरुलाई उपचार सहयोग र अन्य समस्यामा परेकालाई सहयोग गर्ने गरी कोषको स्थापाना गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराका सभापति मेखराज जैशीले बताएका छन् ।
शाखाको जिल्ला कार्य समितिको बैठकबाट विपदमा परेका र विभिन्न रोगबाट ग्रसित भएर उपचारमा आर्थिक अभावमा रहेकाहरुलाई उपचार सहयोग र राहतका लागि कार्य विधी बनाएर आपतलकालिन कोषको स्थापना गरेको बताए ।
शाखाका सदस्यहरुले प्रत्येक बैठकमा एक सय रुपैया कोषमा दिने र आगामी तालिम,गोष्ठी लगायतका कार्यमा सहभागी भएका जिल्ला कार्य समितिका पदाधिकारी र सदस्यहरुले कार्यक्रमको पाएको भत्ताको १ प्रतिशत कोषलाई दिने निर्णय गरेको शाखाका मन्त्री टंकप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।
शाखाले स्थापना गरेको कोषलाई जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी, नागरिक समाज,सुरक्षाकर्मी, संचारकर्मी र सर्वसाधारणलाई सहयोग गर्न शाखाले आग्रह गरेको मन्त्री न्यौपानेले बताए ।कोष स्थापना कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले आपतकालिन व्यवस्थापन कोषलाई संस्थागत विकास गर्दै लैजान जिल्लाका सबै नागरिकले सहयोग गर्नुपर्ने बताएका छन् । उनले आपतकालिन कोषमा आएको रकमलाई सही रुपमा सदुपायोग गर्दै विपदमा परेका तथा आर्थिक अभाव भएर औषधी किन्न नसक्नेहरुलाई सहयोग कोष प्रयोग हुनेमा रोकायाले विश्वास व्यक्त गरेका छन् ।कोष संचालनका क्रममा दुरुपयोग हुने बढी सम्भावना हुने भएकाले जिम्मेवारी पुर्वक र कोषको रकम नागरिकका समस्यामा मात्र खर्च गर्न समन्वय प्रमुख रोकायाले शाखालाई आग्रह गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले कोषलाई व्यवस्थित बनाएर लैजान सबैको सहयोगको आवश्यकता रहेको बताए ।उनले कोषलाई सफलतामा लैजान सबैले समन्वय र सहकार्य गर्दै कोषको रकम सही सदुपयोग गर्न शाखा प्रतिवद्ध हुनुपर्ने बताए । राहत तथा विपन्न आर्थिक भएकालाई सहयोग गर्दा एकद्धार प्रणाली मार्फत लैजाने गरी शाखाले काम गर्ने प्रजिअ पौडेले विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा बडीमालिकानगरपालिकाका वडा नम्बर ९ का वडाध्यक्ष सुर्य किरण वि।क।ले कोषलाई एकद्धार प्रणाली मार्फत लैजान आग्रह गरेका छन् ।
उनले पालिकाका वडा र नगरपालिकाले पनि कोष बनाएकाले कोषबाट खर्च हुने रकम दोहोरो नपर्ने गरी समन्वय गर्नुपर्ने बताए । शाखाका सभापति मेखराज जैशीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया प्रमुख अतिथी रहेका थिए । प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल विशिष्ट अतिथी रहेका थिए । कार्यक्रममा दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंह,बडीमालिका नगरपालिका–९ का वडाक्ष सुर्य किरण वि।क। लगायत अतिथी रहेका थिए ।शाखाका मन्त्री टंकप्रसाद न्यौपानेले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य शाखाकी उप सभापति विमला थापाले गरेकी थिइन् ।