
काठमाडौँ जेष्ठ ३१— कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमाले नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास पुगेका छन् । नेपालको सचिवालयका अनुसार देउवा पहिला पुगेका थिए भने त्यसको केहीबेर पछि दाहाल पनि नेपालको निवास कोटेश्वर पुगेका हुन् ।
अहिले तीन नेताबीच छलफल चलिरहेको नेपाललको सचिवालयले जानकारी दियो । पछिल्लो समय एमालेका दोस्रो तहका नेताहरु पार्टी एकताका लागि संवादमा रहेकै बेला देउवा र दाहाल नेपाललाई भेट्न उनको निवास पुगेका हुन् ।
नेपाल निकट नेता बेदुराम भुसालले पछिल्लो समसामयिक विषयमा छलफलका लागि तीन नेताबीच भेट भएको बताए । ‘उहाँहरु भेटिरहनु भएको छ ।
एमालेको संस्थापन पक्षसँग संवादमा रहेका नेपाल निकट एक नेताका अनुसार अध्यक्ष केपी शर्मा ओली ०७५ जेठ २ मा कायम पार्टी संगठनका बैठक बोलाउन र फागुन २८ यताका निर्णय सच्याउन करिबकरिब तयार भएका छन् ।
तर, देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा दायर रिटमा गरिएको २३ सांसदको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान ओली पक्षले राखेको छ । नेपाल पक्षले भने प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिए हस्ताक्षर पनि फिर्ता हुने अडान राखेको छ ।
आजको कान्तिपुर समाचारमा प्रकाशन