बाजुरा। कार्तिक १७ गते आएको भुकम्पबाट प्रभावित बनेका कर्णाली प्रदेशको रुकुम पश्चिम र जाजरकोट जिल्लाका भुकम्प पिडितलाई त्रिवेणी नगरपालिका बाजुराले एक लाख आर्थिक सहयोग गर्ने भएको छ । शुक्रबार नगर कार्यपालिकाको बैठकबाट भुकम्पबाट प्रभावित बनेका पिडितहरुको राहतका लागि पालिकाले उक्त रकम सहयोग गर्ने निर्णय गरेको वडा नम्बर ४ का वडाध्यक्ष गणेश साउँदले जानकारी दिएका छन् । नगरपालिकामा नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखाले भुकम्पबाट प्रभावित भएका पिडितको घर बनाउने र विपदको पुर्व तयारीको विषयमा छलफल समेत गरेको वडाध्यक्ष साउँदले बताए ।
कार्तिक १७ गते राति ११ बजेर ४७ मिनेटमा आएको ६ दशमलव ८ म्याग्नेच्युडको भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठुलो धनजनको क्षेती भएको छ । विपदबाट पिडित बनेका उक्त जिल्लाका पिडितलाई नगरपालिकाको विपद कोषबाट एक लाख रकम सहयोग गरेको नगर प्रमुख कर्णबहादुर थापाले बताएका छन् । विपदमा परेकालाई सहयोग गर्नु मानवीय धर्म भएकाले पालिकाले आर्थिक सहयोग स्वरुप राहत सहयोग गरेको नगर प्रमुख थापाले बताएका छन् ।











