धनगढीः कैलालीमा भासिएको भीमदत्त राजमार्गको अध्ययनका लागि प्राविधिक टोली खटिएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा वर्षातको समयमा भासिएको सडकको अध्ययनका लागि प्राविधिक टोली खटिएको हो।सुदूरपश्चिमको ७ पहाडी जिल्ला जोड्ने सो राजमार्गको गोदावरीदेखि ५ किलोमिटर टाढा पाँच सय मिटर सडक भासिएको तीन वर्षसम्म मर्मत नभएका बेला गत साउनमा बुढीतोलामा भासिएको सडकको भू–बनावटको अध्ययन गर्न थालिएको हो। प्राविधिकको टोली उक्त सडक मर्मतका लागि अध्ययन गर्न बुढीतोलामा रहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर तारानाथ सिक्देलले बताए। उनले भने, जिओटेक र जिओलोजिस्टहरूले अध्ययन गर्दै हुनुहुन्छ। अहिले हामी बुढीतोलामा छौ। उहाँहरूको रिपोर्टका आधारमा सडक मर्मतको काम हुन्छ।’
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा तीन सय ४० मिटर भीमदत्त राजमार्ग गत साउनमा भासिएको हो। उक्त क्षेत्रमा थप दुई सय मिटर सडकमा समेत पहिरोले क्षति गरेको छ। पाँच सय ४० मिटर सडक पुनःकालोपत्रका लागि अध्ययन गर्न जियोटेक इन्जिनियरको समूह खटिएको छ। भ्याँगुत्ते पानीको सडक तीन वर्षदेखि अलपत्र परेका बेला बुढीतोला सडक क्षेत्रको जमिनको भने अध्ययन थालिएको हो। ‘अहिले कालोपत्र गर्न मिल्लदैन। अध्ययन भएपछि मात्र कालोपत्रको ठेक्का हुन्छ। अध्ययन गरेर मात्र कालोपत्र गर्न मिल्छ,’ उनले भने। बुढीतोलामा जमिन मुनिको पानीको मात्रा धेरै भएकाले सडक मर्मतमा समस्या भएको थियो। ग्याबिन जालीको सहयोगले बुढीतोलाको सडकमा यातायात सुचारु गरिएको छ।











