बाजुरा – आइतबारबाट मौसम बदली भएपछि जिल्लामा अत्याधिक रुपमा चिसो बढ्न थालेको छ । मौसम बदली भएकाले जिल्लामा चिसोबाट वृद्धवृद्धा,बालबालिका र विरामीहरु बढी प्रभावित भएका छन् । चिसोका कारण जिल्ला अस्पताल बाजुरामा समेत दम,रुघाखोकी लगायतका विरामी बढ्न थालेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । चिसो मौसमका कारण विभिन्न खालका रोगबाट ग्रसित बनेकाहरुलाई बढी प्रभाव पार्ने गरेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताएका छन् ।
चिसो मौसमका कारण पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा बसोबास गर्ने भोटे जनजाती समुदायका मानिसहरु भेडाच्याँग्रा सहित स परिवार बेसीतिर झरेका छन् ।विद्यालय जाने बालबालिका सहित बोकेर उनीहरु चिसो समयमा जिल्लाको ब्रहमतोला,कुल्देवमाण्डौं,बाह्रविस,अछाम,डोटी र सुर्खेत लगायतका जिल्लामा बसाई सरेर जाने गरेका छन् ।लगातार दुई दिनसम्म घाम नलागेपछि चिसो ह्वात्तै बढेको हो । जल तथा मौसम विज्ञानका अनुसार अझै केहीदिन सुदूरपश्चिम प्रदेश लगायतका ठाउँमा वर्षा तथा हिमपात हुने सम्भावना गरेको जनाएको छ ।











