पोखरा । यो बर्षको सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार २०८० बाजुराका बालकलाकार सुप्रिम मल्ल ठकुरीलाई प्रदान गरिने भएको छ । हिजो पत्रकार सम्मेलनको आयोजना गर्दै केन्द्रले यस वर्षको पुरस्कार सुप्रिमलाई दिर्ने निर्णय गरेको अध्यक्ष मेहन्द्र श्रेष्ठले जानकारी दिए ।
उक्त पुरस्कार सुप्रिमलाई आगामी माघ २७ गते पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा एक समारोहको बीच अर्पण गरिने श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठको अनुसार सुप्रिमलाई पचास हजार रुपियाँ नगद राशी सहित सम्मान पत्रद्धारा सम्मान गरिनेछ ।योपटक पहिलोचोटि सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार अर्पण गर्न लागिएको बताइएको छ । अर्को वर्षबाट भने संस्थागत रुपमा देशभरका सम्बन्धित निकायहरुमा पत्राचार गर्ने, प्रतिभा सिफारिसको आव्हान गर्ने र आवश्यकता अनुसारको विज्ञापन गर्ने लक्ष्य राखिएको पत्रकार सम्मेलनमा बताइएको छ । बाजुराको हिमाली गाउँपालिका वडा ६ मा जन्मिएका सुप्रिम मल्ल ठकुरी भ्वाइस अफ किड्स नेपालको पहिलो सिजनका फस्ट रनरअप समेत हुन् ।
भ्वाइस अफ नेपालबाट आफ्नो सांगितिक यात्रा तय गरेका मल्ल हाल काठमाडौंस्थित महर्षि स्कुलमा कक्षा ६ मा अध्ययनरत सुप्रिमले हालसम्म १९० वटा गीतहरु रेकर्ड गरिसकेका छन । उनको स्वरमा लोकगीत, लोक दोहोरी गीत, चलचित्र गीत, आधुनिक गीत, देशभक्त गीत, बाल गीत लगायत देउडा, ठाडोभाका, गजल, सालैजो, पूर्वेली भाका, लिम्बु, किराँती, मधेसी, नेवारी भाकाका गीतहरु रेकर्ड भइसकेका छन् ।देश तथा विदेशका करीब २१० भन्दा बढी मेला, महोत्सव, कन्सर्ट लगायत ५०० भन्दा बढी लाइभ लोकदोहोरी कार्यक्रमहरुमा उनले सहभागिता जनाइसकेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट रारा राष्ट्रिय म्युजिक अवार्ड, बालकल्याण परिषदबाट उत्कृष्ट बालप्रतिभा अवार्ड २०७९, क्वीन्स बाल स्वर सम्राट अवार्ड, प्रधानमन्त्री शेरबहादर देउवाबाट क्यासनेप उत्कृष्ट बालप्रतिभा अवार्ड, निम्स अवार्ड, ओएसआर अवार्ड, लोकदोहोरी अवार्ड लगायत विभिन्न अवार्ड तथा पुरस्कारहरुबाट यस अघि नै उनी सम्मानीत भइसकेका छन् ।











