गोबिन्द्र राज तिमिल्सेना,असार ६,बाजुराः बर्षायाम सुरु भएसंगै बाजुराबासीलाई बाढीपहिरोको चिन्ता थपिएको छ । हिउँदको समयमा आनन्द सुत्न पाएका बाजुराका बासीहरुलाई जब बर्षातको समय सुरु भएपछि बाढीपहिरोको चिन्ताले सताउन थालेको हो । जिल्ला बाजुराका कतिपय ठाउँका बस्तीहरुमा बाढीपहिरोको निकै जोखिम रहेका कारण त्यहाँका नागरीकलाई बर्षायाम सुरु भएसंगै रातादिन चिन्ताले सताउन थालेको छ । हिउँदको समयमा त्यति डर हुन्न थियो अब बर्षातको समय सुरु भयो बाढीपहिरोले कतिको घरजग्गा बगाउने हो,कतिलाई घरबार बिहिन,टुहुरा बनाउने हो चिन्ता लागेको बाजुराका स्थानिय बासीहरुले बताएका छन् ।
जिल्लाका नौ वटै स्थानिय तहमध्ये बुढीगंगा,खप्तडछेडेदह,बडिमालिका गौमुल ,स्वामिकार्तिक गाउँपालिका का बस्तीहरु उच्च जोखिमा रहेका छन् । बर्षातको समय सुरु भयो अब बाढीपहिरोले सताउँछन्,रातादिन जाग्राम बस्नुपर्छ,पेटभरी न खान पाइन्छ,न सुत्न पाईन्छ यो बर्षातको समय हाम्रो लागी दशा भएर आउँछ स्वामिकासतिर्थक –२ मुक्तीकोटका पहिरो पिडितहरुले बताएका छन् ।“ गत वर्ष बर्षातमा आएको बाढीपहिरोले पुरै गाउँ बस्ती जोखिममा छ । कतै घरबासको व्यवस्था भएको छैन् । यो वर्खामा पनि बाढीपहिरो आएर फेरि कतिका ज्यान नै लिने हो,कतिका घरबार बिहिन गर्ने हो, चिन्ता लागेको ।त्यहाँका पहिरो पिडितहरुले बताएका छन् ।
बस्ती स्थानान्तरुणका लागि अनुगमन गर्न जिल्लाबाट सरकारी टोली गाउँमा पुगेपनि अहिले सम्म बस्ती स्थान्तारण नभएको र बर्षातमा पहिरोको उच्च जोखिाम रहेको त्यहाँका स्थानियहरुले बताएका छन् ।मुक्तीकोटमा दलित बस्तीको तलमाथीबाट पहिरो आएको छ । त्यसै पहिरो आएको ठाउँमा करिब ३८० दलित घरपरिवार बसोबास गर्दै आएका छन् ।उक्त ठाउँ पहिरोको निकै जोखिममा रहेको छ ।त्यस्तै जिल्लाको खप्तड छेडेदह गाउँपालिकाको गुईबन बस्ती पनि बाढीपहिरोको उच्च जोखिममा रहेको छ । उक्त बस्ती भने लामोसमय देखि बाढीपहिरोको उच्च जोखिममा रहेको छ । खप्तड छेडेदह गाँउपालिकामा मात्र दर्जन बस्ति पहिरोको जोखिममा रहेको रहेका छन । सो मध्यकै सबै भन्द बढि पहिरोको जोखीममा रहेको गुइवन बस्ती हो । २०४८ सालबाट सामान्य चिरा परेको गुईबन गाउँको भिर भासिदै गएपछि त्यहाँका करिब १ सय २० परिवार पहिरोको उच्च जोखीममा रहदै आएका छन ।बर्षातको समय सुरु भए पश्चात त्यहाँका नागरीकलाई पहिरोको चिन्ताले पिरोल्ने गर्छ,त्यहाँको उक्त पहिरो २०५६ साल देखी गाउँ नजिकै पुगेको त्यहाँका स्थानियहरुको भनाई रहेको छ । लामो समयदेखि पहिरोको उच्च जोखिममाा रहेका त्यहाँका नागरीक बर्षातको समयमा ठुलो बिपतको सामना गदै आईरहेका छन् । उक्त गाउँ पहिरोको उच्च जोखिमा रहेको भएपनि त्यसको स्थानान्तरणको लागी भने अझै कुनै पनि पहल हुन नसकेको त्यहाँका स्थानियहरुले बताएका छन् ।
त्यस्तै जिल्लाको बूढीगङ्गा नगरपालिकाको अम्कोट बस्ती पनि पहिरोको उच्च जोखिममा रहेको छ । अम्कोट गाउँ पहिरोले चिराचिरा पारेको छ। हिउँदै समयमा सताउने उक्त पहिरो बर्षात सुरु भएसंगै बग्न सुरु गरेको अम्कोट बासीहरुले बताएका छन् । त्यहाँका नागरीकलाई सुरक्षित हुने कतै ठाउँ नभएपछि बर्खामा पनि त्यहि चिरा परेको गाउँ घरमा स्थानिय बस्दै आएका छन् । हरेक बर्षातको समयमा अम्कोट गाउँ पहिरोको उच्च जोखिमा रहेने गरेको छ । यो भन्दा अगाडी उक्त पहिरोबाट त्यहाँका कतिपय स्थानियको घरजग्गा लगायत मानिसको ज्यान समेत गएको छ । बर्खा लागेपछि पहिरो बग्न सुरु हुने भएकाले त्यहाँका नागरीकलाई कहाँ गएर बस्ने भन्ने चिन्ताले सताउँने गर्छ, बाढीपहिरोले त्यहाँका स्थानीयवासीको कतिपय कमाई खाने अधिकांश खेतियोग्य जमिनसमेत बगर बनाएको छ । खेती गर्ने जमिनमा अहिले नदी बग्न थालेको छ । बर्षातको समयमा अम्कोट बासीहरुले बाढीपहिरोको बितण्डा सहनु बाहेक अरु कुनै बिकल्प देखिदैन् । उक्त बस्ती स्थानान्तरण गर्नको लागी पनि कुनै पहल भएको छैन् ।
त्यस्तै यता जिल्लाको गौमुल गाउँपालिकामा पनि कयौँ बस्तीहरु बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । गाउँपालिकामा करिब दुई दर्जनभन्दा बढी बस्तीहरू पहिरोको उच्च जोखिममा छन् ।जसमध्ये अन्द्राढी,टुनी, बाम्नी, शान्ति टोल र गैरीबाडा,बसाला, लगायतका बस्तीहरु उच्च जोखिमा रहेका छन् । गत बर्ष पनि गौमुलमा पहिरोबाट कयौ घरपरिवार बिस्थापित भएका थिए भने कतिपय स्थानयिका खेतीयोग्य जमिन पहिरोले बगनएको थियो । पालिकामा माडी र सिम, गताडी, मल्लोदुगन, पौदाली, कुहुडा पाटा, चल्लो काट्ना, आला, धल्काडा, कटीगाउँ, बेहरी, कोट, लगायतका बस्ती पनि उच्च् जोखिममा रहेका छन् ।पालिकामा यि बस्तीहरुलाई स्थानान्तरण गर्नुपर्ने अबस्था देखिन्छ । गौमुल गाउँपालिकामा अन्य पालिकाको भन्दा अलि बढी बर्षा हुने भएकोले पनि त्यहाँका बढीजसो गाउँबस्तीहरु पहिरोको उच्च जोखिममा रहेका छन् । गौमुलमा अत्याधिक बर्षा हुने भएकोले त्यहाँका दर्जनौ गाउँबस्ती पहिरोको उच्च जोखिममा रहेका छन् भने हरेक बर्ष बर्षातको समयमा त्यहाँका नागरीकले दुःख पाउँदै आईरहेका छन् ।
यता त्रिबेणी नगरपालिकामा पनि कयौ बस्ती जोखिमा रहेका छन् । पालिकाको पन्ताली, ढडाली, बागापाटा, कालापानी, गिरिवाडा, नेपालीटोल, ताम्सु र नुवाकोट, गैरा र पन्धारा गाउँ, फल्नेतोला किम्नीको ढोड क्षेत्र पीपलसैन, लगायतका गाउँबस्तीहरु बाढीपहिरोको उच्च जोखिममाा रहेका छन् । त्यहाँका नागरीकलाई पनि बर्षातको समयमा निकै दुःख हुने गरेको छ । यता बडिमालिका नगरपालिकाको पाटामा ठुलो पहिरोले गाउँ पुरै बिस्थापित हुँने अवस्थामा हरेको छ। गाउँको दायाँ बाँया पट्टीको पहिरो रहेको छ। त्यस्तै पालिकाकै ढम्कने,रजातोली,जिल्ली,सिराडी,कोर्ध,घाँघर,मार्तडी आसपास क्षेत्र पहिरोको उच्च जोखिममा रहेका छन् । बडिमालिका ७ जिल्लीमा दुर्य बर्ष यता रोड माथिबाटै ठुलो पहिरो गएको छ । जसले गर्दा मार्तडी- कोल्टी क्षेत्रको लागी यातायात सञ्चालनमा बर्षातको समयमा निकै समस्या हुने गरेको छ भने उक्त पहिरोबाट जिल्ली बासीका कतिपय जग्गा जमिन बगाएको छ त्यस्तै लक्ष्मी माध्यामिक बिद्यालय पहिरोको उच्च जोखिमा रहेको छ ।
यता बुढीनन्दा नगरपालिकामा पनि केहि बस्तीहरु जोखिममा रहेका छन् । पालिकाको साउने गाउँ, कोल्टी गाउँ, भुलेना, घोडाकोट,सिराडी, दैया, लाटोवस्ती र खारगडा, पहेलसेरा, लगायतका बस्ती उच्च जोखिमा रहेका छन् ति बस्तीहरुमा पनि बर्षातको समयमा निकै समस्या हुने गरेको छ । जिल्लाको जगन्नाथ र हिमाली गाउँपालिकामा भने अन्य पालिकाको तुलनामा कमै बस्तीहरु जोखिममा रहेका छन् । जिल्ला बाजुराका अधिकांस गाउँबस्तीहरु बाढीपहिरोको उच्च जोखिममा रहेको भएपनि अहिलेसम्म ब्यबस्थित तरीकाले कुनै पनि ठाउँका गाउँबस्तीहरु ब्यबस्थित हुन सकेका छैनन् । बर्षायाम सुरु भईसक्दा अब यहाँका नागरीकलाई बाढीपहिरोको चिन्ताले सताउन थालेको छ । कतिपय गाउँका स्थानियहरु अलिेसम्म पनि पालकै घरमुनि बस्दै आईरहेका छन् भने यो बर्षातको समयमा बाढीपहिरोबाट उच्च जोखिममा रहेका बस्तीका परिवार खुल्ला ठाउँमा गएर पालमुनि रात कटाउने गर्छन् ।पहिरोले बर्षातको समयमा तर्साउन थालेपछि स्थानियहरुलाई कता गएर जीउ जोगाउने भन्ने चिन्ताले सताउने गर्छ ।
स्थानीय प्रदेश र सङघीय सरकारले जिल्लाका बस्ती स्थानान्तरणको काम नगरेपछि जिल्लाका जोखिम बस्तीका स्थानीयलाई बर्षातको समयमा चिन्तै चिन्ताले रात कटाउनुपर्ने बाध्यता रहेको छ ।स्थानीय तहले यहाँका बाढीपहिरोबाट प्रभावित भएका बस्तीको तथ्याङ्क सङ्कलनमा खासै ध्यान नदिाद बर्षेनी यहाँका नागरीकले पिडा भोग्दै आईरहेका छन् । जिल्ला बाजुरामा करिब ९५ प्रतिशत गाउँबस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् भने उनिहरुले सधैभर बर्षातको समयमा बिपत्तीको सामाना गर्नुपर्ने अबस्था रहेको छ । बर्षेनी जिल्ला बाजुरामा बाढीपहिरोले खेतीयोग्य जमिन बगाउँनुका साथै कतिपय घरपरिवार बिस्थापित गर्दे आएको छ ।











