म्याग्दी — धाैैलागिरी गाउँपालिका वडा नम्बर १ र ४को बीचमा पर्ने गुर्जा खोलामा पहिरो जाँदा शनिबार बिहानदेखि थुनिएको स्थानीयले बताएका छन् । खोला थुनिएको स्थान गुर्जा गाउँदेखि कम्तीमा २ घन्टा तल पर्छ ।
पहिरोले खोला थुनिएपछि बनेको तलमाथिबाट शनिबार साँझदेखि पानी बढी भएर बग्न थालेको वडा नम्बर १ का वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । चुरेन र गुर्जा हिमालबाट झर्ने गुर्जा खोला थुनिएपछि साँझ ७ बजेदेखि पानी बढी भएर बगेको आफूलाई गोठालाहरुले जानकारी दिएको वडाध्यक्ष छन्त्यालले बताए ।
‘गोठालाहरुले पहिरो गै गुर्जााखोला थुनिएर ताल परेको र शनिबारसाँझ ७ बजेबाट बग्न थालेको भनेका छन् । पहिरो गएको क्षेत्रमा गुर्जाबासीको घुम्ती खेतीको मकै बाली रहेको र मकै बालीसँगै रहेका गोठालाले खबर गरेका हुन् । पहिरो गएको स्थान धेरै खोंचमा रहेकोले थुनिएको खोलाबाट कसरी पानी बग्न भन्न सकिन्नँ ।’ थुनिएको खोला फुटेमा म्याग्दीखोला तटीय क्षेत्रमा जोखिममा पर्ने उनले बताए ।
पहिरो क्षेत्र मानव बस्तीदेखि धेरै टाढा जंगलमा पर्ने भएकोले पहिरो कति बेला गएको र कति पानी थुनिएको भन्ने खुलेको छैन । गुर्जा खोला म्याग्दी नदीको मुख्य एक सहायक नदीमध्येको एक हो । थुनिएको गुर्जाखोलाको पानी फुटेर बाढी आएमा धवलागिरी गाउँपालिकाको खाम्ला हुँदै मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजार भएर बेनीसम्मका बस्तीमा क्षति पुर्याउन सक्छ ।