धनगढी: नेकपा माओवादी केन्द्रका नेताहरुले लेखराज भट्ट र गौरीशंकर चौधरीबाट लज्जासपद गतिविधि भइरहेको बताएका छन् । सुदूरपश्चिम प्रदेशका केही नेताहरुले लेखराज र गौरीशंकर अब माओवादी नरहेको बताउँदै आएका हुन ।
लेखराज र गौरीशंकर माओवादीमै छन् त भन्ने प्रश्नमा सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा माओवादी केन्द्रका नेता अक्कल रावलले भने, ‘उहाँहरु माओवादीमा हुनुहुन्न । उहाँहरु नेकपा एमालेको केन्द्रीय समितिमा हुनुहुन्छ । उहाँहरु सरकार चाहिएको बेला एमाले हुनुहुन्छ। पार्टी चाहिएको बेला माओवादी केन्द्र हुँ भन्नुहुन्छ । उहाँहरुको अहिले सरकार पनि नभएको अवस्था, पार्टी पनि नभएको अवस्था छ। त्यसैले गर्दा पार्टीको खोजी गर्नु स्वाभाविक रुपमा मैले मानेको छु ।
कैलालीबाट विजयी पूर्वमाओवादी नेता लेखराज भट्ट र गौरीशंकर चौधरीले आफूहरु माओवादीमै रहेको र गैरकानुनी ढंगले कारबाही गरेको भन्दै सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा बुधबार रिट दायर गरेका छन् ।
माओवादी छाडेको र एमाले प्रवेश गरेको घोषणा नगरेपनि माओवादीले दल त्याग गरेको भन्दै कारबाही गरेकाले आफूहरू अन्यायमा परेको आशय भट्ट र चौधरीको रिटमा छ । भट्ट स्थायी कमिटी सदस्य र चौधरीलाई केन्द्रीय सदस्यको जिम्मेवारी एमालेले दिएको थियो ।
तर सर्वोच्चले एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि निर्वाचन आयोगमा भट्ट र चौधरी एमाले हो भन्ने प्रमाण छैन ।